काठमाडौँ / देशभर आज (बिहीवार) दिनभरजसो मौसम बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार देशका धेरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । केही स्थानमा बेलुकादेखि हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ भने भारी वर्षाको सम्भावना थोरै स्थानमा मात्रै रहेको छ ।
उच्च पहाडी तथा हिमाली भूभागमा बेलुकादेखि हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरिन् । बिहीवार बेलुकादेखि शनिवारसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।
‘आज लगभग देशभरि बदली नै हुने देखिन्छ । केही ठाउँहरुमा हल्कासम्म वर्षाको सम्भावना रहन्छ,’ पोखरेलले भनिन्, ‘बेलुका भने हल्कादेखि मध्यमसम्म थोरै स्थानहरुमा आउन सक्ने सम्भावना छ, साथै बेलुकाबाट नै उच्च हिमाली तथा पहाडी भूभागहरुमा हिमपातको सम्भावना रहन्छ ।’
- ADVERTISEMENT -

यस अवधिमा अन्य भूभागमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने उनले बताइन् ।
‘आज बेलुकाबाट शनिवारसम्म हामीले विशेष सतर्कता अपनाउन आग्रह गरेका छौँ, विशेष गरी उच्च पहाडी र हिमाली भूभागहरुमा बढी सतर्क हुनुपर्ने देखिन्छ । अरु स्थानहरुमा मध्यम, हल्कादेखि मध्यमसम्म वर्षाको धेरै ठाउँमा सम्भावना छ । भारी वर्षाको धेरै थोरै ठाउँहरुमा सम्भावना रहेको छ,’ उनले भनिन् ।
मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै पाकिसकेको धान तत्काल नकाट्न पनि मौसमविद् पोखरेलले सुझाव दिइन् । आइतबारदेखि धान काट्न सकिने उनको भनाइ छ ।
‘अब धान काट्नेलाई पाकिसकेको धानलाई चाहिँ अब हामीले अगाडि नै भनेका थियौँ, अब चाहिँ काट्नु राम्रो हुँदैन, अब यो इभेन्ट सकिसकेपछि धान काट्नलाई केही फरक पर्दैन,’ उनले भनिन् ।























