काठमाडौं / विश्वका सबैभन्दा बढी वायु प्रदूषण भएका सहरको सूचीमा काठमाडौं ११औँ स्थानमा परेको छ । बुधबार बिहानको तथ्याङ्कअनुसार काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १५८ पुगेको छ ।
वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरका अनुसार बिहान ५ देखि ६ बजेसम्म मापन गरिएको तथ्याङ्कमा काठमाडौंको वायु गुणस्तर स्वास्थ्यका लागि अस्वस्थकर तहमा पुगेको हो ।
वायु प्रदूषणको उच्च स्तरले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई बढी असर गर्न सक्ने भएकाले सावधानी अपनाउन स्वास्थ्य तथा वातावरण क्षेत्रका जानकारहरूले सुझाव दिएका छन् ।
आईक्यूएयरको सूचीअनुसार २७० एक्यूआईसहित पाकिस्तानको लाहोर विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । त्यस्तै, २१९ एक्यूआईसहित बङ्गलादेशको ढाका दोस्रो, १९८ सहित भारतको कोलकाता तेस्रो र १८४ सहित अफगानिस्तानको काबुल चौथो स्थानमा छन् ।
- ADVERTISEMENT -

सूचीको पाँचौँ स्थानमा भारतको दिल्ली, छैटौँमा इन्डोनेसियाको जकार्ता र दसौँ स्थानमा पाकिस्तानको कराँची रहेका छन् ।
















































