काठमाडौं / भारतीय फिल्म ‘रामायण’ले नेपालमा २५ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ । गत कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शनमा आएको फिल्मले नेपाली दर्शकमाझ पनि राम्रो प्रभाव जमाएको हो ।
बक्सअफिस स्रोतका अनुसार शुक्रबारसम्म फिल्मले नेपालबाट २५ करोड ३० लाख रुपैयाँभन्दा बढी व्यापार गरेको छ । यस अवधिमा फिल्मका ६ लाख ४० हजारभन्दा बढी टिकट बिक्री भएका छन् ।
प्रदर्शनका लागि उपलब्ध गराइएको शो संख्या र दर्शकको उपस्थिति हेर्दा फिल्मको नेपालमा कुल कमाइ ३० करोड रुपैयाँको हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।
नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपूर भगवान् राम, साई पल्लवी सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन् । निर्माता नमित मल्होत्राले भारतीय पौराणिक कथालाई विश्वव्यापी दर्शकमाझ पुर्याउने उद्देश्यसहित फिल्म निर्माण गरेका हुन् ।
- ADVERTISEMENT -

भारतीय महाकाव्य रामायणको विस्तृत कथालाई एउटै फिल्ममा समेट्न कठिन हुने भएकाले निर्माण पक्षले यसलाई दुई भागमा प्रस्तुत गर्ने निर्णय गरेको छ । पहिलो भागको आधिकारिक शीर्षक ‘रामायणः राइज अफ अ लेजेन्ड’ राखिएको छ ।
पहिलो भागमा भगवान् रामको जीवन, वनवास, सीता हरण तथा राम–रावणबीचको द्वन्द्वको पृष्ठभूमि समेटिएको छ । कथाका महत्वपूर्ण घटना, पात्रबीचका सम्बन्ध र युद्धलाई विस्तृत रूपमा प्रस्तुत गर्ने उद्देश्यले फिल्मलाई दुई भागमा निर्माण गरिएको हो । दोस्रो भाग सन् २०२८ को दीपावलीमा प्रदर्शन गर्ने प्रारम्भिक योजना सार्वजनिक गरिएको छ ।
















































