चितवन / नारायणी नदी किनारमा आज (बिहीबार) देखि दोस्रो ‘नारायणी महोत्सव २०८३’ सुरु हुँदैछ । रेड रक इभेन्ट्स एन्ड म्यानेजमेन्ट प्रा.लि.को आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको सह–आयोजनामा हुन लागेको महोत्सवको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले गर्ने कार्यक्रम रहेको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव संयोजक विक्कल क्षेत्रीले महोत्सव मङ्सिर ३ देखि १६ गतेसम्म सञ्चालन हुने जानकारी दिए । यस वर्ष महोत्सवलाई थप नवीन, आकर्षक र मनोरञ्जनात्मक बनाउन विभिन्न नयाँ संरचना तथा गतिविधि समावेश गरिएको उनले बताए ।
बाढीका कारण नारायणी नदी किनारमा बालुवा, गेगर र ढुङ्गा थुप्रिनुका साथै विभिन्न स्थानमा खाल्डाखुल्डी बनेपछि महोत्सव आयोजना गर्न कठिनाइ भएको थियो । आयोजकले आफ्नै स्रोत, साधन र लगानीमा मेसिनरी तथा जनशक्ति परिचालन गरी नदी किनार सम्याउने र परिसरलाई व्यवस्थित बनाउने काम सम्पन्न गरेपछि महोत्सव सञ्चालन गर्न लागेको हो ।
महोत्सवको मुख्य आकर्षणका रूपमा प्रवेशद्वारमा पिरामिड शैलीको आकर्षक गेट निर्माण गरिएको छ भने नारायणी नदी र आसपासको प्राकृतिक सुन्दरता आकाशबाट अवलोकन गर्न सकिने गरी हट एयर बेलुनको व्यवस्था गरिएको गरिएको छ । सम्बन्धित निकायको अनुमति र आवश्यक सुरक्षा मापदण्ड पूरा गरी उक्त गतिविधि सञ्चालन गरिने उनले बताए । त्यस्तै, जिरो ग्र्याभिटी राइडसहित बालबालिका, युवा तथा परिवारका सदस्यलाई लक्षित विभिन्न मनोरञ्जनात्मक खेल तथा राइड रहनेछन् ।
- ADVERTISEMENT -

महोत्सवमा व्यापारिक स्टल, प्रदर्शनी कक्ष, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विभिन्न खानाका परिकार राखिनेछन् । यसले स्थानीय व्यवसायी, उद्यमी तथा साना व्यवसायीलाई आफ्ना उत्पादन र सेवाको प्रचारप्रसार तथा बिक्री वितरणमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।
नारायणी नदी किनारलाई पर्यटनसँग जोड्दै भरतपुरसहित समग्र चितवनको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको क्षेत्रीले बताए । महोत्सवमार्फत आन्तरिक पर्यटक आकर्षित गर्ने, स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने, कलाकार तथा सांस्कृतिक प्रतिभालाई अवसर प्रदान गर्ने र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ ।
महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा ट्राफिक प्रहरीसँग समन्वय गरिएको आयोजकले जनाएको छ । सवारीसाधन व्यवस्थापन, पार्किङ, पैदल यात्रुको आवागमन, सरसफाइ, प्राथमिक उपचार तथा आपत्कालीन व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।
महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीलाई ८० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । त्यस्तै, केही दिन साँझ ५ बजेदेखि राति ९ बजेसम्म विशेष कन्सर्ट सञ्चालन हुनेछ । कन्सर्ट जोनमा प्रवेश गर्न सर्वसाधारणका लागि ३०० रुपैयाँ र भिआइपीका लागि ५०० रुपैयाँको टिकट निर्धारण गरिएको छ । कन्सर्टमा सहभागी नहुने दर्शकले भने नियमित टिकटबाटै महोत्सव अवलोकन गर्न पाउनेछन् ।
यसअघि मङ्सिर २ गतेदेखि महोत्सव सुरु गर्ने तयारी भए पनि विभिन्न व्यवस्थापकीय कामका लागि थप समय आवश्यक परेकाले एक दिन ढिला गरी मङ्सिर ३ गतेदेखि सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा सहभागी भई सफल बनाउन सबैलाई आग्रह समेत गरिएको छ ।


















































