चितवन / नारायणी नदी किनारमा जारी दोस्रो ‘नारायणी महोत्सव २०८३’ मा आज (शुक्रबार) राष्ट्रिय कलाकारद्वय निश्चल दवाडी र सम्झना रनपालले सांगीतिक प्रस्तुति दिने भएका छन् । दुवै कलाकारको प्रस्तुतिले महोत्सवमा सहभागी दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।
महोत्सवका सह–संयोजक सागर कुमालका अनुसार आजको सांगीतिक कार्यक्रममा निश्चल दवाडी र सम्झना रनपालसँगै नारायणी कला मन्दिर नारायणगढको विशेष प्रस्तुति रहनेछ । साथै आदिवासी जनजातिका विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने उनले जानकारी दिए ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजनामा सञ्चालित महोत्सवमा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवन सह–आयोजक रहेको छ । महोत्सवमा हरेक दिनजसो साँझ ५ बजेदेखि राति ९ बजेसम्म विशेष सांगीतिक कन्सर्ट सञ्चालन हुँदै आएको छ ।
महोत्सवमा कलाकारहरूको सांगीतिक प्रस्तुतिसँगै पिरामिड शैलीको आकर्षक प्रवेशद्वार, हट एयर बेलुन, जिरो ग्र्याभिटी राइडलगायतका आकर्षण राखिएका छन् । बालबालिका, युवा तथा परिवारलाई लक्षित मनोरञ्जनात्मक खेल तथा गतिविधिसमेत सञ्चालन भइरहेका छन् ।
- ADVERTISEMENT -

त्यस्तै, महोत्सवमा व्यापारिक स्टल, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विभिन्न खानाका परिकार उपलब्ध छन् ।
महोत्सवको साधारण टिकट १०० रुपैयाँ र विद्यार्थी टिकट ८० रुपैयाँ तोकिएको छ । विशेष कन्सर्ट जोनमा प्रवेश गर्न साधारण टिकट ३०० रुपैयाँ र भिआइपी टिकट ५०० रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । कन्सर्टमा सहभागी नभई महोत्सव अवलोकन गर्न चाहनेले भने नियमित टिकटबाटै प्रवेश पाउनेछन् ।


















































