March 29, 2024

पोखराको विभिन्न ठाउँमा पहिरो, चारको मृत्यु

July 10, 2020

पोखरा / अविरल वर्षासँगै आएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट आएको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहनुभएका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्ने खुल्न नसकेको उहाँले बताउनुभयो । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य मानवीय क्षति नभएपनि तीन वटा बाख्रा पुरिएको बताइन्छ ।
पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उहाँका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको प्रनाउ हमालले जानकारी दिनुभयोे । अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको र स्थानीयवासीलाई रातिनै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको जनाइएको छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -