कांग्रेसले गर्व गर्न सक्ने पार्टी निर्माण गर्नु प्रमुख उद्देश्य : अमृत भट्टचन

0
26

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत वडा, नगर र प्रदेश तहसम्मका अधिवेशन सम्पन्न भैसकेको छ । क्षेत्र, जिल्ला र केन्द्रको अधिवेशन हुन बाँकी नै छ । हाल चुनावमा उमेदवारी दिएका उम्मेदवारहरुको दौडधुप चलिरहेको छ । नेपालकै कान्छो जिल्लाको उपमा पाएको नवलपुर जिल्लाको क्षेत्र न १ बाट क्षेत्रीय सभापतिमा सशक्त दाबेदारी प्रस्तुत गरेका छन् अमृत भट्टचनले । नेपाल तरुण दल नवलपरासीको संस्थापक जिल्ला सदस्य पदबाट राजनीति सुरु गरेका भट्टचन नेपाल तरुण विभाग केन्द्रीय सदस्य समेत हुन् ।
जिल्ला उद्योग वाणिज्य संघ नवलपुरको वर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य रहेका भट्टचनले विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भएर आफ्नो कुसल कार्यक्षमता प्रस्तुत गरिसकेका छन् । शान्त, सरल, सहयोगी र हँसिला मिजासका भट्टचन युवाहरूमाझ निकै लोकप्रिय छन् । सफल युवा व्यावसायीको छवि बनाएका अमृत भट्टचनसँग न्युजप्रवाह डटकमका सम्वाददाता शिव अधिकारीले महाधिवेशन र उम्मेदवारीलाई लिएर गरिएको भलाकुसारी प्रस्तुत गरिएको छ ।
१) क्षेत्रीय सभापतिमा उठदै हुनुहुन्छ कस्तो अनुभुति भइरहेको छ ?
सर्वप्रथम त धन्यवाद न्युजप्रवाह परिवारलाई मेरो आफ्नो कुराहरु राख्ने मौका दिनुभएकोमा । यहाँहरु सबैलाई सर्वविदितै छ नवलपुर क्षेत्र नं १ क्षेत्रीय सभापतिमा मेरो उम्मेदवारी रहेको छ । क्षेत्रीय प्रतिनिधिहरुको घर घरमा पुगेको छु । पार्टीप्रति उहाँहरुको गुनासा, समस्या, सल्लाह र सुझाव संकलन गरिरहेको छु । हुन त, म महाधिवेशनमा भोट माग्नको लागि मात्र अहिले घरघरमा पुगेको होइन । हरेक कार्यकर्ताको दुःख र पीडामा मलहम लगाउन उहाँहरुलाई आवश्यक पर्दा सबैभन्दा पहिला म नै पुगेको हुन्छु । त्यसैले पनि अहिले उम्मेदवार बनेर प्रतिनिधिहरुको घरमा पुग्दा उहाँहरुको मान सद्भावसहित सुझावहरु र सकरात्मक प्रतिक्रिया पाउँदा खुशीको अनुभूति भइरहेको छ । साथै तपाईको दुःख सुखमा जहिले पनि साथ दिएकै छु । र सधैँ मेरो साथ हुने प्रतिवद्धता पनि गर्दछु ।
२) क्षेत्रीय सभापतिमा तपाईलाई नै किन रोज्ने ?
– नेपाली कांग्रेसको गर्विलो इतिहास बोकेको यस नवलपुर क्षेत्र कांग्रेसको बलियो किल्ला मानिन्छ । पार्टीभित्रका केही स्वार्थी झुण्डहरुको घात र प्रतिघातले गर्दा गत स्थानीय तह निर्वाचनमा पनि पार्टी प्रति आस्थावान संगठित सदस्यको मन अमिलो भएको तीतो यथार्थ हामी सामू छ । पार्टीभित्रको बेथिति रोकी, विधि, पद्धति र सिद्धान्त बमोजिम पार्टीलाई नयाँ उचाइँमा लैजान सम्पूर्ण कार्यकर्ताको मनोभावना बुझेर अग्रजलाई सम्मान र उचित स्थान दिँदै युवा वर्गलाई पार्टीप्रति आकर्षित गर्न र बलियो संगठनको निर्माणको लागि मेरो उम्मेदवारी रहेको छ । यसबाहेक पनि उत्पीडनमा परेका हरेक जातजाति, धर्म, संस्कृति अवलम्बन गर्ने कार्यकर्ताहरुको लागि प्रशासनिक सहयोग होस् वा स्वास्थ्य र रोजगारको क्षेत्रमा सदा खुलेर सहयोग गर्दै आइरहेकोले पनि क्षेत्रीय सभापतिमा कार्यकर्ताले मलाई रोज्नु हुनेछ ।
३) तपाईले चुनावी अभियानमा के कस्ता योजना अघि सार्नुभएको छ ?
– पार्टी भनेको निष्ठा, बिचार, विधि र विधान अनुसार चल्नुपर्छ । अग्रजलाई सम्मान गर्दै राजनीतिमा युवाहरुलाई थप प्रोत्साहन गर्दै, संगठन सवलीकरण गर्दै आगामी चुनावमा नवलपुर जिल्लालाई नै कांग्रेसमय बनाउने लक्ष्यका साथ अघि बढिरहेको छु । पार्टीभित्र रहेका गुट उपगुट, बेथितिको अन्त्य गर्दै सम्पूर्ण कार्यकर्ता तथा कांग्रेसले गर्व गर्न सक्ने पार्टी निर्माण गर्नु नै मेरो प्रमुख उद्देश्य रहने छ ।
५) यो क्षेत्रमा तपाइँले के कस्तो योगदान गर्नुभएको छ ?
– २०५२ सालमा नेपाल तरुण दल नवलपरासीको संस्थापक सदस्य रहेर काम गरे पश्चात २०५५ सालबाट लगातार १३ वर्ष तरुण दलको सफल नेतृत्व गरेको छु । माओवादी द्वन्द्वकालमा पनि सशक्त प्रतिकार गर्दै संगठन बिस्तारमा सदा लागि परेँ । नवलपुर कांग्रेसमा युवाहरुलाई प्रोत्साहन र उचित स्थान दिँदै आजको दिनसम्म आइपुगेको छु । यस क्षेत्रको सुगम होस् या दुर्गम, हरेक ठाउँमा पुगी कार्यकर्ताको हक हितको लागि सधैँ आवाज उठाउँदै आइरहेको छु । अग्रजलाई सम्मान गर्दै युवालाई कांग्रेस पार्टीप्रति आकर्षित गर्दै संगठन बिस्तार गरिरहेको छु । उत्पीडनमा परेका हरेक कार्यकर्तालाई आफूले सकेको सहयोग हरेक क्षेत्रमा गरिरहेको छु । विभिन्न सामाजिक संघ संस्था मार्फत् दुर्गमा क्षेत्रमा नियमित स्वास्थ्य शिविरहरु संचालन गर्दै आइरहेको छु ।
६) सुदृढ र सवल कांग्रेस निर्माणका लागि के गर्नुपर्छ जस्तो लाग्छ ?
– सबैभन्दा पहिले त पार्टी विधि विधान र पद्दति अनुसार चल्नुपर्छ । योग्य र क्षमतावान युवाहरुलाई नेतृत्वमा चयन गरी बढीभन्दा युवाहरुलाई पार्टीमा गोलबद्ध गर्न सक्नुपर्छ । गुट उपगुट र टिके प्रथाको पनि अन्त्य हुनु जरुरी छ । पार्टी नेतृत्वपंक्तिले गल्ती गरे भने त्यसको असर तलसम्म पनि पर्दछ । तसर्थ सकरात्मक सोच भएको युवाहरुलाई पार्टीको नेतृत्वमा चयन गर्नुपर्छ जस्तो लाग्छ ।
७) १४औं महाधिवेशनमा कस्तो नेतृत्व अपेक्षा गर्नुभएको छ ?
– कुशल सांगठनिक क्षमता भएको, पार्टी नै सर्वोपरि ठान्ने, गुट उपगुट नहेर्ने, सामाजिक, राजनीतिक विवेक भएको, सधैँ जनताको सेवामा समर्पित हुने, योग्य नेतृत्वको अपेक्षा गरेको छु ।
८) अन्त्यमा कांग्रेस कार्यकर्तालाई के भन्न चाहनुहुन्छ ?
– नेता चयन गर्ने भनेको नै कार्यकर्ताले नै हो । सक्षम नेतृत्व चयन गर्न सक्यो भने आगामी ५ वर्षमा कांग्रेस पार्टीलाई एउटा नयाँ उचाइमा पु¥याउन सफल हुनेछौं । तसर्थ मतदान गर्नुअघि १ मिनेट सोचेर, सम्झेर योग्य उमेदवारलाई मतदान गर्नुहोला । जय नेपाल ।