चितवन / नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी चितवनले भुटानी शरणार्थी सम्बन्धी मानव बेचबिखन सम्बन्धित भ्रष्टाचार विरुद्ध गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेकपा एसका अध्यक्ष अरुणपीडित भण्डारीले जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मार्फत गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई कडा कारबाही र नाम जोडिएकालाई तत्काल पक्राउ गरि कानुनी दायरामा ल्याउन माग गरिएको छ । ज्ञापनपत्र बुझाउन पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र नगर स्तरका नेताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
नेपाली नागरिकहरुलाई नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखन र भ्रष्टाचार जस्तो जघन्य अपराधमा संलग्न भएका सबैलाई कार्बाही गर्न र तिनीहरुलाई कुनै पनि बहानामा दोषमुक्त नबनाउन वा मुद्दालाई कमजोर तथा निश्प्रभावी नपार्न ज्ञपनपत्र उल्लेख गरिएको छ ।
नक्कली भुटानी शरणाथी काण्डका भ्रष्टाचारीहरुलाई कानुनी कार्बाहीको दायरामा ल्याउन आजसम्म सरकारले राखेको अडान, कार्य र सक्रियताले आमनागरिकको बीचमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै पत्रमा निराश जनता केही मात्रामा आशावादी बनेको उल्लेख गरिएको छ ।
देशका कतिपय उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा सत्वालयका सचिवहरुले नै देशका नागरिकहरुलाई अर्को देशको नक्कली नागरिक बनाई विक्री गर्नु मानव बेचविखनको कार्यमात्र नभई राष्ट्रप्रतिको धोखा र राष्ट्रद्रोही कार्य भएको जनाइएको छ ।