काठमाडौं । आकर्षक तलबसहित युरोपेली मुलुक पठाइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाकी २९ वर्षीया जुनु राना थापा मगर र बर्दियाका ३३ वर्षीय सुदीप कुमार यादव रहेका छन् ।
कार्यालयका अनुसार, पक्राउ परेकी मगरले स्लोभाकिया पठाइदिन्छु भनी ९ जना व्यक्तिबाट ३ लाख १० हजार रुपैयाँ ठगी गरेकी हुन् । पीडितहरूले दिएको उजुरीका आधारमा अनुसन्धान गर्दा मगरलाई काठमाडौं महानगरपालिका-१५ बाट साउन ४ गते पक्राउ गरिएको हो । उनको स्थायी ठेगाना गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ हो भने हाल उनी काठमाडौं-१५ मा बस्दै आएकी थिइन् ।
- ADVERTISEMENT -

त्यसैगरी, सर्बिया पठाइदिने आश्वासन दिएर ४ जना युवाबाट १८ लाख ५६ हजार रुपैयाँ ठगी गरेको आरोपमा यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । बर्दियाको गुलरिया नगरपालिका-२ का स्थायी बासिन्दा यादव हाल काठमाडौं महानगरपालिका-३२ मा बस्दै आएका थिए । उनलाई प्रहरीले साउन ४ गते काठमाडौं-३० बाट पक्राउ गरेको हो ।
पीडितहरूलाई वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै लामो समयसम्म सम्पर्कविहीन भएपछि उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान कार्यालयले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।










































