– बबिलाल तामाङ
कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा गत आर्थिक वर्षभित्र एक हजार ८१३ पुरूष र १९७८ महिला गरी तीन हजार ७९१ जना मानिसले जन्म दर्ता गराएका छन् । २०८१ सालको साउन १ गतेदेखि २०८२ सालको असार मसान्तसम्मको विवरणअनुसार गाउँपालिकामा कूल ६ हजार ५३५ वटा व्यक्तिगत घटना दर्ता हुँदा करिब ५८ प्रतिशत घटना जन्मदर्तासम्बन्धी भएको गाउँपालिकाको तथ्याङ्कले देखाएको छ । जन्मदर्ता पनि सबैभन्दा बढी वडा नं.१ मा भएको देखिन्छ । अधिकांश चेपाङ जातिको बसोबास रहेको वडा नं.१ मा मात्रै ४२९ पुरूष र ४५४ महिला गरी ८८३ वटा जन्मदर्ता भएको छ ।
- ADVERTISEMENT -

त्यसपछि वडा नं.७ मा ३३४ पुरूष र ३७५ महिला गरी ७०९ वटा जन्मदर्ता बढी भएको देखिएको छ । यी दुई वडाको तुलनामा अन्य पाँच वटा वडामा कम छन् । इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतका अनुसार विपन्न तथा सिमान्तकृत चेपाङ समुदायमा अझै पनि एउटै परिवारमा धेरै बालबच्चा जन्माउने क्रम नघट्दा वडा नं.१ मा सबैभन्दा बढी जन्मदर्ता भएको देखिएको हो ।
गाउँपालिकामा जन्मदर्तापछि सबैभन्दा बढी बसाइसराइ देखिएको छ । करिब २०६० सालपछि नेपालमा बसाइसराइले लिन थालेको तीव्र रूप अझै कम भएको छैन । फलस्वरूप इच्छाकामना गाउँपालिकामा पनि बसाइसराइ रोकिएको छैन । एक आर्थिक वर्षभित्रै इच्छाकामना गाउँपालिकामा बसाइसराइसम्बन्धी दुई हजार १५७ वटा घटना दर्ता भएका छन् । यो सङ्ख्या कूल घटना दर्ताको ३३ प्रतिशत सङ्ख्या हो । गाउँपालिकाको तथ्याङ्कअनुसार बसाइसरी इच्छाकामना आउनेको सङ्ख्या एक हजार १४१ र बसाइसराइ लिएर जानेको सङ्ख्या एक हजार १६ वटा दर्ता भएका छन् ।
बसाइसराइमा पनि ७ नं. वडा सबैभन्दा अगाडि देखिन्छ । तथ्याङ्कानुसार वडा नं.७ मा बसाइसराइ गरेर आउनेको सङ्ख्या २८१ र बसाइसराइ लिएर जानेको सङ्ख्या ७२८ वटा दर्ता भएका छन् । तर, पालिकामा घटना दर्ता गराएको आधारमा बसाइसराइको सङ्ख्यालाई आधिकारिक मानिए पनि वास्तविकतालाई केलाउने हो भने फरक देखिन्छ । किनभने बसाइसराइ गरिसकेका सबैले गाउँपालिकामा घटना विवरण दर्ता गराएका छैनन् । ‘बसाइसराइ गरिसकेका सबैले पालिकामा घटना दर्ता गराएका छैनन्, सबैले दर्ता गर्ने हो भने यो सङ्ख्या अझ बढ्छ,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने ।
त्यसबाहेक विवाहसम्बन्धी १०२, मृत्युसम्बन्धी ८९२ र बेवारिसेसम्बन्धी एक हजार ११२ वटा घटना दर्ता भएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार चितवनको इच्छाकामना गाउँपालिकाको जनसङ्ख्या २७ हजार ६३४ छ । अति सिमान्तकृत आदिवासी जनजाति चेपाङसहित गुरूङ, मगर, तामाङ, नेवार, ब्राह्मण, क्षेत्री, ठकुरी, अल्पसङ्ख्यक मुस्लिम तथा दलित समुदाय इच्छाकामना गाउँपालिकामा बसोबास गर्दै आएका प्रमुख समुदाय हो ।

















































