चितवन / राप्ती नगरपालिकाले आउँदो वर्षदेखि राप्ती नगरपालिकामा हरेक वर्ष विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनले शनिबार आयोजना गरेको विश्व आदिवासी दिवस–२०८२ मूल समारोहलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर शमशेर लामाले २०८३ सालदेखि हरेक वर्ष विश्व आदिवासी दिवसका दिन सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् ।
- ADVERTISEMENT -

‘मैले आज यही कार्यक्रमबाट घोषणा गर्न चाहन्छु कि आगामी वर्षदेखि राप्ती नगरपालिकाले विश्व आदिवासी दिवसका दिन सार्वजनिक बिदा दिन्छ,’ उनले भने, ‘चितवन जिल्लाको सातै पालिकासँग समन्वय गरेर जिल्लाभरि नै सार्वजनिक बिदा दिलाउने वातावरण सिर्जना गर्ने छु ।’
२०७८ सालको जनगणनाअनुसार करिब तीन लाख ३३ हजार आदिवासी जनजाति समुदायको बसोबास गर्ने ठाउँमा स्थानीय सरकारले पनि उदारता देखाउन सक्नुपर्ने उनको भनाइ छ । आदिवासी जनजातिले ३१ वर्षदेखि स्थापना दिवसलाई आन्दोलनकै रुपमा लिइरहेको अवस्थामा आगामी दिनमा पनि युएनड्रिप र आइएलओ १६९ ले भनेका कुरालाई आम नागरिकमाझ बुझाउन आवश्यक रहेको उनको भनाइ छ ।
‘हामीले आन्दोलन त गरिरहेका छौँ । किन गरिरहेका छौँ । हामीले आवाज उठाउँदै आएको युएनड्रिप र आइएलओले के कुरा समेटेको छ भन्ने विषयमा बहस हुन जरुरी छ,’ उनले भने, ‘यस्ता विषयमा कार्यपत्र नै प्रस्तुत गर्ने गरी आगामी दिनमा कार्यक्रम गरिनु आवश्यक छ ।’
video link: (265) चितवनमा मनाइयो विश्व आदिवासी दिवस, कृषि उपजमा जोड दिन मेयर शमशेर लामाको जोड – YouTube








































