काभ्रेपलाञ्चोक / अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डका विभिन्न स्थानमा खसेको पहिरो र लेदोले सडक पूर्णरुपमा अवरुद्ध भएको छ । यसले गर्दा पूर्व जाने तथा पूर्वबाट आउने सयौं सवारी साधन र यात्रुहरू अलपत्र परेका छन् । सडक खुलाउन समय लाग्ने भएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा स्थगित गर्न प्रहरीले अनुरोध गरेको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा ठूला पहिरो खसेका छन् । यसैगरी, नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा लेदो माटोले सडक ढाकेको छ ।
- ADVERTISEMENT -

चौकीडाँडामा खसेको पहिरो पन्छाउने प्रयास गर्दागर्दै पुनः माथिबाट पहिरो खसेपछि जोखिम बढेको छ । पानी परिरहेकाले तत्कालका लागि पहिरो हटाउने कार्य रोकिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले बीपी राजमार्गको काभ्रे खण्डमा अवरोध हटाएर सडक सञ्चालन गर्न केही समय लाग्ने बताए । उनले सुरक्षित यात्राका लागि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेका छन् । विशेषगरी पूर्वतर्फ जाने सवारी साधनहरूलाई काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएको छ ।























