काठमाडौं / नेपालको कम्युनिष्ट आन्दोलनमा एकताको बहसले नयाँ मोड लिइरहेका बेला नेकपा माओवादी केन्द्रले पार्टी एकतासम्बन्धी महत्वपूर्ण निर्णय लिन आज (शनिबार) महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकको मुख्य एजेण्डा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायतका पार्टीहरूसँगको एकता प्रक्रिया रहेको नेता देवेन्द्र पौडेलले जानकारी दिएका छन् । यस क्रममा एकताको मोडालिटी, पदीय व्यवस्थापन र सैद्धान्तिक तथा सांगठनिक समायोजनका विषयमा गहन छलफल हुनेछ ।
- ADVERTISEMENT -

गत शुक्रबार सम्पन्न नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक निर्णय गरेपश्चात् यो बैठकलाई थप चासोका साथ हेरिएको छ । आजको बैठकले एकता प्रक्रियालाई कसरी अगाडि बढाउँछ र यसले अन्य कम्युनिष्ट घटकहरूलाई कसरी प्रभाव पार्छ भन्ने कुरा हेर्न बाँकी नै छ ।























