काठमाडौं / बजारमा खाना पकाउने ग्यासको अभाव देखाई कृत्रिम अभाव सिर्जना गर्ने ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योग प्रालि कारबाहीमा परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा ठुलो परिमाणमा सिलिन्डर लुकाएको फेला पारेपछि उक्त उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो ।
विभागको टोलीले चैत २ गते उद्योगको गोदाममा छापा मार्दा बिक्रीका लागि तयार पारिएका १४।२ केजी तौलका ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर लुकाएर राखिएको अवस्थामा फेला पारेको थियो । उपभोक्ताले बजारमा ग्यास नपाइरहेको गुनासो गरिरहेका बेला उद्योगले भने स्टक राखेर जम्माखोरी गरेको विभागको ठहर छ ।
- ADVERTISEMENT -

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिम वस्तुको कृत्रिम अभाव सिर्जना गरेको र जम्माखोरी गरेको कसुरमा सोही ऐनको दफा ३९ अनुसार उद्योगलाई तत्काल जरिवाना गरिएको विभागले जनाएको छ । बजारमा देखिएको असहज परिस्थितिको फाइदा उठाउँदै अस्वाभाविक रूपमा भण्डारण गर्नेलाई विभागले कडा निगरानीमा राखेको छ ।
बरामद गरिएका ६ हजारभन्दा बढी सिलिन्डरलाई नेपाल आयल निगमको समन्वय र रोहवरमा तत्काल बजारमा पठाउन विभागले निर्देशन दिएको छ । यद्यपि, ती ग्यास सिलिन्डरलाई साविककै १४।२ केजीको पूर्ण सिलिन्डरका रूपमा बेच्ने वा हालको विशेष व्यवस्था अनुसार ७।१ केजीको ‘हाफ’ सिलिन्डर बनाएर बजार पठाउने भन्नेबारे छलफल भइरहेको छ ।
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बरामद ग्यासको वितरण मोडालिटीबारे छिट्टै टुङ्गो लाग्ने जानकारी दिए । उनले भने, ‘वाणिज्य विभागले आफ्नो तर्फबाट कारबाही गरिसकेको छ । अब ती सिलिन्डरलाई कसरी बिक्री वितरण गर्दा बढीभन्दा बढी उपभोक्तासम्म पुर्याउन सकिन्छ भन्ने विषयमा हामी परामर्श गर्दै छौँ । ठोस निर्णय हुनासाथ बजार पठाइनेछ ।’










































