काठमाडौँ / फिफा विश्वकप २०२६ मा ऐतिहासिक प्रदर्शन गर्दै पहिलो पटक नकआउट चरणमा पुगेको अफ्रिकी राष्ट्र केप भर्डेका कप्तान रायन मेन्डेस गम्भीर कानुनी विवादमा तानिएका छन्। ३६ वर्षीय मेन्डेसमाथि बलात्कार र शारीरिक दुर्व्यवहारको आरोप लागेको छ भने न्युजिल्यान्ड प्रहरीले उनी विरुद्ध औपचारिक अनुसन्धान सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रिपोर्टअनुसार घटना मार्च २०२६ मा फिफा सिरिजका क्रममा केप भर्डेको टोली न्युजिल्यान्डको अकल्यान्डमा रहेका बेला भएको हो। टोलीसँग अनुवादक ९ट्रान्सलेटर० का रूपमा कार्यरत एक ब्राजिलियन महिलाले मेन्डेसले होटेलको कोठामा आफूलाई कुटपिट गर्नुका साथै घाँटी थिचेर बलात्कार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन्। समाचारहरूका अनुसार पीडितको मेडिकल परीक्षणमा शरीरमा चोटपटकका सङ्केतसमेत फेला परेका छन्।
- ADVERTISEMENT -

महिलाले घटनापछि केप भर्डे टोलीका केही उच्च अधिकारीलाई जानकारी गराए पनि कुनै सुनुवाइ नभएको दाबी गरेकी छन्। त्यसपछि उनले केप भर्डे फुटबल महासङ्घ र विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई समेत कानुनी सूचना ९लिगल नोटिस० पठाएकी छन्।
फिफाले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। फिफाका प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार घटनालाई अत्यन्त संवेदनशील रूपमा हेरिएको छ र सत्य तथ्य पत्ता लगाउन न्युजिल्यान्ड प्रहरीसँग आवश्यक समन्वय भइरहेको छ। यद्यपि अनुसन्धान जारी रहेकाले हालसम्म मेन्डेसविरुद्ध अदालतमा औपचारिक अभियोग दर्ता भएको छैन।
- ADVERTISEMENT -

रायन मेन्डेस केप भर्डेका सबैभन्दा अनुभवी खेलाडीमध्ये एक हुन्। उनले राष्ट्रिय टोलीबाट १०० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्दै २२ गोल गरेका छन्। जारी विश्वकपका सबै समूह चरणका खेलमा उनले नै टोलीको कप्तानी गरेका थिए।
पहिलो पटक विश्वकपमा सहभागी भएको केप भर्डे समूह चरणमा अपराजित रहँदै राउन्ड अफ ३२ मा प्रवेश गरेर इतिहास रच्न सफल भएको छ। टोलीले जुलाई ३ मा साबिक विश्व विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने तालिका छ। तर, निर्णायक खेलअघि कप्तानमाथि लागेको गम्भीर आरोप र प्रहरी अनुसन्धानले टोलीलाई मैदानबाहिर पनि ठुलो दबाबमा पारेको छ।
यद्यपि, अनुसन्धान अझै प्रारम्भिक चरणमै रहेकाले आरोपहरू प्रमाणित भइसकेका छैनन् र मेन्डेसले पनि सार्वजनिक रूपमा यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।













































