– बबिलाल तामाङ
चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले ३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ ।
भरतपुरस्थित बीपी मेमोरियल क्यान्सर अस्पतालको हलमा आइतबार सम्पन्न कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारीले गरेका हुन् ।
- ADVERTISEMENT -

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कार्यवाहक मेयर अधिकारीले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, परम्परा, पहिचान र अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए ।
उनले आदिवासी जनजातिको मौलिक संस्कृति, भाषा र पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै लैजानुपर्नेमा जोड दिए । संस्थाका गतिविधिमा महानगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बागमती प्रदेशका काजीमान थिङले आदिवासी जनजाति समुदायले आफ्नो पहिचान, भाषा, संस्कार र संस्कृतिको संरक्षणसँगै अधिकार प्राप्तिका लागि निरन्तर आवाज उठाउनुपर्ने बताए ।
राज्यका सबै तहमा आदिवासी जनजातिको समान सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै अधिकार प्राप्तिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको धारणा थियो ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले आदिवासी जनजातिको मौलिक संस्कृति र परम्परा नेपालको पहिचानसँग प्रत्यक्ष जोडिएको बताए । उनले यसको संरक्षण र प्रवर्द्धनमा स्थानीय तहले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनका अध्यक्ष सागर कुमालले आदिवासी जनजातिका मुद्दा, अधिकार, भाषा, संस्कृति र पहिचानका सवाललाई सञ्चारमाध्यममार्फत समाजसम्म पुर्याउन पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनले आदिवासी जनजाति समुदायका गतिविधि तथा मुद्दालाई प्राथमिकताका साथ उठाउँदै उनीहरूको आवाजलाई अझ बुलन्द बनाउन नेफिन चितवन एकताबद्ध भएर अघि बढ्ने बताए ।
त्यस्तै, थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललित चौधरीले आदिवासी जनजातिको संस्कृति र परम्पराको संरक्षणका लागि समुदायस्तरबाटै निरन्तर पहल आवश्यक रहेको बताए ।

उनले सबै जातजातिको मौलिक पहिचानको सम्मान गर्दै विविधतामा एकताको भावना विकास गर्नुपर्नेमा जोड दिए । साथै, आदिवासी जनजातिको भाषा, संस्कृति र पहिचान संरक्षणका लागि स्थानीय तहहरूले नीतिगत रूपमा पहल गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा चितवनमा रहेका विभिन्न आदिवासी जनजाति समुदायका सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो । विभिन्न जातजातिका नृत्य, भेषभूषा तथा मौलिक संस्कृति झल्काउने प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
कार्यक्रममा रेम वर्कमा सहभागी तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई प्रोत्साहनस्वरूप प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्ने विभिन्न जाति तथा समुदायका संघसंस्था तथा अतिथिहरुलाई मायाको चिनो तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।

समाचारका माध्यमबाट संस्थाको गतिविधि तथा आदिवासी जनजातिका सवाललाई समाजसम्म पुर्याउन योगदान पु¥याएको भन्दै संस्थागत रुपमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनलाई सम्मान गरिएको थियो ।
नेफिन चितवनका अध्यक्ष सागर कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मिलन थापा मगरले गरेका थिए भने उपाध्यक्ष बाबुलाल थिङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रमले चितवनमा रहेका विभिन्न आदिवासी जनजाति समुदायबीच आपसी एकता, सहकार्य तथा मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षणका लागि सकारात्मक सन्देश दिएको विश्वास गरिएको छ ।


















































