काठमाडौं / श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको भन्दै आलोचना गरेका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले सरकारका विभिन्न मन्त्रालयहरूको कार्यसम्पादन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएका हुन् ।
- ADVERTISEMENT -

सांसद राईले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्मले आ–आफ्नो जिम्मेवारी वहन गर्न नसकेको टिप्पणी गरे। उनले सीमा रक्षा, शान्ति सुरक्षा, मल तथा खाद्यान्न आपूर्ति, रोजगारी सिर्जना र महँगी नियन्त्रण जस्ता आधारभूत विषयमा सरकार असफल रहेको दाबी गरे ।
उनले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जनताका प्रश्नहरूको दफावार उत्तर दिनुपर्ने माग समेत गरे । उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानाकर्षण गराउँदै सुनसरीको रामधुनी–७ स्थित ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेको विषयमा बस्तीवासीलाई न्याय दिन माग गरे ।
साथै, धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको अर्बौँ रुपैयाँ जोखिममा परेको उल्लेख गर्दै उक्त रकम फिर्ता गराउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘सहकारी पीडितले पैसा फिर्ता पाएका छैनन्, न्यायालयमा न्याय छैन र अस्पतालमा उपचार पाउने अवस्था छैन । सरकार संसदप्रति र संसद जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्छ, अन्यथा हाम्रो बहसको कुनै अर्थ रहँदैन ।’
विकास निर्माणका सन्दर्भमा बोल्दै सांसद राईले सुनसरी–१ लगायत देशभरका योजनाहरूको ठेक्का प्रक्रिया तत्काल अगाडि बढाउन माग गरे ।


















































