काठमाडौं / नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशको सम्भावना कायम राख्न आज (बुधबार) काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको एलिमिनेटर खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ । खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ ।
पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्ससँग दोस्रो क्वालिफायरमा आजको विजेताले प्रतिस्पर्धा गर्नेछ । उक्त खेल बिहीबार हुनेछ। दोस्रो क्वालिफायर जित्ने टोलीले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्सको सामना गर्नेछ ।
लिग चरणको प्रदर्शनका आधारमा काठमाडौं अंक तालिकाको तेस्रो र चितवन चौथो स्थानमा रहँदै एलिमिनेटरमा पुगेका हुन् ।
- ADVERTISEMENT -

काठमाडौंले सात खेलमध्ये चारमा जित र तीनमा हार बेहोरेको थियो । चितवनले भने सात खेलमा तीन जित र तीन हार निकालेको थियो । वर्षाका कारण एक खेल रद्द भएपछि चितवनले अंक बाँडेको थियो ।
















































