चितवन / नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो ‘नारायणी महोत्सव–२०८३’ मा आज (शुक्रबार) चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी, गायिका रेजिना बीसी र गायक गोर्खे राजाले सांगीतिक प्रस्तुति दिने भएका छन् ।
महोत्सवका कार्यक्रम सह–संयोजक सागर कुमालका अनुसार आजको सांगीतिक कार्यक्रममा तीनै जना कलाकारले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।
लोक तथा दोहोरी संगीतमा छुट्टै पहिचान बनाएका खुमन अधिकारीका ‘लालुमै’, ‘झम्के फुली नाकैमा बुलाकी’, ‘माया बस्यो मुटुमा’ लगायतका चर्चित गीतले दर्शकलाई नचाउने अपेक्षा गरिएको छ । त्यस्तै, गायिका रेजिना बीसीका लोक तथा दोहोरी गीत र गायक गोर्खे राजाका लोकप्रिय प्रस्तुतिले महोत्सवस्थलमा थप रौनकता थप्नेछन् ।
तीनै कलाकारको प्रस्तुतिका लागि दर्शक उत्साहित रहेको आयोजकको विश्वास छ ।
- ADVERTISEMENT -

महोत्सवमा दिनहुँ राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति हुँदै आएको छ । कलाकारका गीतसंगीतमा रमाउन दर्शकको आकर्षण पनि बढ्दै गएको छ । सांगीतिक कार्यक्रमसँगै नारायणी कला मन्दिर नारायणगढका विभिन्न सांस्कृतिक प्रस्तुति तथा आदिवासी जनजातिका मौलिक सांस्कृतिक कार्यक्रमले महोत्सवलाई थप आकर्षक बनाएका छन् ।
महोत्सवमा विभिन्न व्यापारिक स्टल, बालउद्यान, जिरो ग्राभिटी राइड, ३६० डिग्री राइड तथा पिरामिड गेटसमेत आकर्षणका रूपमा रहेका छन् ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्टको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद् चितवनको सहआयोजनामा मंसिर ३ गतेदेखि सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीलाई ८० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ । महोत्सवअन्तर्गत केही दिन साँझ ५ बजेदेखि राति ९ बजेसम्म विशेष कन्सर्टसमेत आयोजना गरिनेछ । विशेष कन्सर्ट जोनमा प्रवेश गर्न सर्वसाधारणका लागि ३०० रुपैयाँ र भिआईपीका लागि ५०० रुपैयाँको टिकट व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
















































