न्यूजप्रवाह डटकमको प्रथम वार्षिकोत्सव : स्मरण, आभार तथा धन्यवाद !

0
429

–बबिलाल तामाङ
वार्षिकोत्सव आफैँमा खुसीको पल या भनौ जन्म भएको दिन, सुखद् क्षण । जसलाई जोकोहीले पनि हर्षोल्लासका साथ मनाउने गर्दछन् । अरू दिनमा जतिसुकै सफलता मिले पनि यो दिन सम्बन्धितको लागि खास महत्त्व राख्दछ । यस अवसरलाई आफन्त तथा इष्टमित्रलाई निमन्त्रणा गरेरै भव्यसँग मनाउने गर्दछन् । निकै उल्लासमय वातावरणमा सम्पन्न गर्न पाए हुन्थ्यो भन्ने जसको पनि चाहना हुन्छ । तर समय नै प्रतिकूल भयो भने त्यस बखत बहुत दुःख लाग्दोरहेछ । यस्तैयस्तै बाध्यात्मक परिस्थिति ‘न्यूजप्रवाह डटकम’को प्रथम वार्षिकोत्सवमा पनि रह्यो । कोभिड–१९ को महामारीबीच हामीले हाम्रो कम्पनी बि. एण्ड बि. मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित ‘न्यूजप्रवाह डटकम’को प्रथम वार्षिकोत्सव मनायौं । चाहेर पनि कसैलाई बोलाउन सकिएन, किनकि यो समय नै यस्तै थियो ।

हाम्रो चाहना हुँदाहुँदै पनि सबैलाई टाढा राखेर न्यून साथीहरुको उपस्थितिमा हामीले सानो कार्यक्रम गरेर वार्षिकोत्सव मनायौँ । हामीले अतिथिका रुपमा केवल दुईजना व्यक्तित्वहरुलाई मात्र बोलाउन सक्यौं । भरतपुर नगर तामाङ समाजका उपाध्यक्ष तथा भरतपुर महानगरपालिका ईन्जिनियर सूर्यप्रकाश लामा (प्रमुख अतिथि) र जिल्ला खेलकुद विकास समिति चितवनका निवर्तमान अध्यक्ष गंगालाल लामा (विशिष्ट अतिथि)लाई मात्रै हामीले निम्ता गरेका थियौं वार्षिकोत्सवमा । यस्तैगरी तामाङ पत्रकार संघ चितवनका साथीहरुको उपस्थिति न्यून रह्यो । तर कुनै पनि साथीहरुसँग मेरो र ‘न्यूजप्रवाह डटकम’ परिवारको केही गुनासो छैन । हाम्रो चाहना र हामीले सोचेजस्तै भयो कार्यक्रम । सोचेजस्तै यसमानेमा कि हामीले बढीमा १५ जनासम्मको तयारी गरेका थियौँ ।
तर उपस्थिति १२ जनाको मात्रै रह्यो । तामाङ पत्रकार संघका केन्द्रीय सदस्य उर्गेन तामाङ, जिल्लाका तर्फबाट अध्यक्ष ज्ञानेन्द्र तामाङ, सचिव राजेश रुम्बा लामा, सदस्य सन्तोष तामाङलगायतका साथीहरुको उपस्थिति थियो । यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका सचिव तुलमान गुरूङ, पत्रकार साथीहरु सुशील पन्त क्षेत्री, सुरक्षा न्यौपानेलगायतको उपस्थिति रह्यो । कार्यक्रम निर्धारित समयभन्दा केही ढिलो भएको थियो । तर पनि भव्य र सभ्य एवम् सौहार्द वातावरणमा सम्पन्न भएको ठानेको छु । न्यून साथीहरुको सहभागितामा निकै उल्लासमय ढंगबाट भएको मैले महसुस गरेँ । यसको श्रेय म पत्रकार मित्र तुलमान गुरूङ र सन्तोष तामाङलाई दिन चाहन्छु । दुवै साथीहरु समयमै आउनु भएर हाम्रो लागि ठूलो सहयोग गर्नुभएको थियो ।

कार्यक्रमलाई सफल पार्न र कार्यक्रमको गरिमा उच्च बनाउन आफ्नो अमूल्य समय छुट्याएर कार्यक्रममा उपस्थित हुनुहुने सूर्यप्रकाश लामा (प्रमुख अतिथि) सर, गंगालाल लामा (विशिष्ट अतिथि) सरलगायत तपाईँहरु सबैलाई विशेष आभार तथा धन्यवाद नदिइरहन सक्दिनँ । हामीले कार्यक्रम त गर्ने भन्यौं, तर अप्ठेरो परिस्थिति कार्यक्रम कसले सञ्चालन गर्ने भन्नेमा मलाई निकै गाह्रो भइरहेको थियो, जहाँ इज्जतको पनि सवाल थियो । मेरो कम्पनीका सहकर्मी मित्र बिक्रम गुरूङजीलाई कार्यक्रम सञ्चालन गर्नुपर्छ है तपाईँले भन्दै थिएँ मैले । त्यही बेला सायद हाम्रो समस्या बुझेर नै होला, मित्र तुलमानले कार्यक्रम सञ्चालन म गरिदिन्छु भन्नुभयो । हामीलाई पनि ढुङ्गो खोज्दा देउता मिलेझैँ भयो । मित्र तुलमानजस्तो कार्यक्रम सञ्चालक पाएपछि शतप्रतिशत कार्यक्रम सफल भयो भन्ने मैले ठानेँ ।
हाल उहाँ चितवन पोष्ट दैनिकमा कार्यरत हुनुहुन्छ । कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिद्वय सूर्यप्रकाश लामा र गंगालाल लामा, अतिथि उर्गेन तामाङले शुभकामना मन्तव्य राख्नु भएको थियो । सूर्यप्रकाश र गंगालाल सरले मन्तव्यमा निकै गहकिला, दमदार प्रस्तुति दिनु भएको थियो । उहाँहरुले दिनु भएको मन्तव्य साँच्चै नै भन्नुपर्दा धेरै सपोर्ट पाएको महसुस गरेका छौं हामीले । उहाँहरुले दिनु भएको साथ र सहयोगको वचनले भविष्यमा अझ बढी गर्ने हौसला मिलेको छ । बाटाहरु अझ सहज भएको मैले ठानेको छु । त्यस्तैगरी अतिथिका रूपमा रहनुभएका उर्गेन तामाङ सरले झण्डै दुई दशक पत्रकारितामा लगानीको फल अब यसबाट लिनुपर्ने जस्ता मन छुने मन्तव्य दिनुभएको थियो । पक्कै पनि यहाँहरूको साथ सहयोग, सल्लाह, सुझावले हामीलाई अझ अघि बढ्ने प्रेरणा मिलेको छ ।
हामीले पनि हाम्रो दायित्व र जिम्मेवारीलाई आत्मसाथ गर्दै अघि बढ्नेछौं । हामीले हाम्रो कर्तव्यलाई कहिल्यै पनि विचलित हुन दिने छैनौं । सत्य, तथ्य समाचार यहाँहरूसमक्ष पस्किने बाचा गर्दछौं । हामी निरन्तररूपमा लागिरहने छौं । समाज रूपान्तरणका लागि हामीले खेल्नुपर्ने भूमिकाको सदैब ख्याल गर्दै यो जिम्मेवारीमा अडिग भई अघि बढ्ने प्रतिबद्धता पनि गर्दछौं । स्वागत मन्तव्य मेरा सहकर्मी मित्र बिक्रम गुरूङले दिनुभएको थियो । कार्यक्रमको अध्यक्षताको अभिभारा म स्वयम्ले बोकेको थिएँ ।
यसमा अलिकति यसअघि गरेका कार्यक्रमको बारेमा थोरै जोड्न चाहेँ । हामीले यसअघि पनि जेठ महिनामा एउटा कार्यक्रम गरेका थियौं । त्यो थियो ‘न्यूजप्रवाह डटकम भित्तेपात्रो’ लोकार्पणको । त्यतिबेला पनि हामीले न्यून संख्यामा कार्यक्रम गरेका थियौं । २०७७ सालको ‘न्यूजप्रवाह डटकम भित्तेपात्रो’ लोकार्पणका लागि हामीले भरतपुर वडा नं. १६ का अध्यक्ष अमृतराज हमाल सरलाई प्रमुख अतिथि बनाएका थियौं । कोभिड–१९ को महामारीका कारण हामीले त्यसबेला पनि ज्यादै न्यून संख्यामा साथीहरुको सहभागितामा सम्पन्न गरेका थियौं । स्मरणका लागि योसँगै हाम्रो कम्पनीले दुई वटा कार्यक्रम सम्पन्न गरिसकेको छ ।
र, अन्तमा हामीलाई सल्लाह, सुझाव तथा सहयोग गर्नुहुने सबै शुभचिन्तक मित्रहरू, विज्ञापनदाता, पाठकवर्गलगायत सम्पूर्णलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । जसरी विगतमा सहयोग गर्नुभएको छ, यसरी नै भावी दिनहरूमा पनि यहाँहरूको सल्लाह, सुझाव र सहयोग अपेक्षा राखेका छौं । फेरि पनि हाम्रो कार्यक्रमलाई सफल बनाई सहयोग गर्नुहुने सम्पूर्णमा आभार प्रकट गर्दै धेरै–धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौं ।