April 23, 2025

मृतक चेपाङ्गको पोस्टमार्टम अझै हुन सकेन, जनजाति महासंघले बुझायो ध्यानाकर्षणपत्र

July 27, 2020
फोटो - बुलबुल खबरबाट ।
- ADVERTISEMENT -

चितवन । चितवन राष्टिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाले निर्घात कुटपिट गरेका कारण मृत्यु भएका राजकुमार चेपाङ्गको अझै पोस्ट मार्टम हुन सकेको छैन । शनिबार जिल्ला प्रशासन कार्यालय चितवनमा भएको छलफलमा पिडित परिवारलाई १ लाख उपलब्ध गराउने, परिवारलाई आवश्यक राहत तथा घर बनाइदिने सहमति भएसँगै शव बुझ्ने भनिएपनि आइतबार पिडित परिवारले थप बिरोध गरेपछि पोस्टमार्टम हुन नसकेको हो ।
आइतबार बागमती प्रदेशका सांसद सन्तबहादुर चेपाङ्ग, नेपाली काँग्रेस चितवनका सभापति जितनारयण श्रेष्ठ लगायतको अगुवाईमा पिडित परिवार जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । उनीहरुले १ लाख क्षतिपुर्तिमा शव नबुझ्ने र उचित क्षतिपुर्तिका साथै दोषीलाई कडा कारबाहिको माग गरेका छन ।
नेपाल चेपाङ्ग संघका पुर्व अध्यक्ष तथा संबिधान सभा सदस्य गोविन्दराम चेपाङ्गले धेरै दिनसम्म शवको पोस्टमार्टम हुन नसकेपछि अब पोस्टमार्टमका लागि शवलाई काठमडौ लैजानुपर्ने भएको बताए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले पोस्टमार्टमका लागि शवलाई काठमण्डौ लैजान पिडित परिवारलाई आग्रह गरेको उनको भनाई छ ।
मनावअधिकार आयोगलाई ध्यानाकर्षणपत्र
नेपाल आदिवासी जनजाति महासंघद्धारा राष्ट्यि मानवअधिकार आयोगलाई ध्यानकर्षणपत्र बुझाइएको छ । पत्रमा दोषीमाथि कडा कारबाहि र घटनाको सत्यतथ्य छानविन नभए कडा आन्दोलनमा उत्रने बताइएको छ ।
आयोगमा पत्र बुझाउन महासंघका अध्यक्ष जगत बराम लगायत पदाधिकारी पुगेका थिए । आयोगका अध्यक्ष अनुपराज शर्माले चितवनमा चेपाङ्गमाथि भएको घटना संवेदनशील रहेको र अनुसन्धान सुरु भइसकेको बताए ।
राप्ती नगरपालिका २ मिलनटोल चितवनको २४ बर्षिय राजकुमार चेपाङ्गको गत साउन ८ गते निधन भएको थियो । साउन १ गते निकुञ्ज क्षेत्रमा माछा साथीहरुसँगै माछा मार्न गएका चेपाङ्गलाई सेनाका जवानले कुटेका थिए ।
उनी एक सातासम्म बिरामी भई घरमै उपचार गर्दागर्दै गम्भीर बनेपछि अस्पताल लैजानेबितिकै चिकित्सकले मृत घोषणा गरेका थिए । चेपाङ्ग अति विपन्न परिवारका हुन ।

- ADVERTISEMENT -