March 16, 2025
- ADVERTISEMENT -

रामजन्मभूमि अयोध्याको बारेमा थप अध्ययन गर्नु : प्रधानमन्त्री

August 8, 2020
Prime Minister K P OLI addresses the nation at prime minister Residence, baluwatar Kathmandu on Sunday, November 15, 2015 Photo; Keshab Thoker/Nagarik/republica

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा अध्ययन गर्न आग्रह गरेका छन् । उनले शुक्रबार माडी नगरपालिका-९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘त्यहाँ के कस्ता संरचना छन्, के-के बनाउनुभएको छ । भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ ।
तपाईँहरू के-के गर्दै हुनुहुन्छ, तुरुन्तै काम अघि बढाउनुपर्‍यो ।’ प्रधानमन्त्री ओलीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा प्रमाण बलियो भेटिएको तथा सोमेश्वर गढी, वाल्मिकी आश्रमलगायत स्थानसमेत बलियो आधार भएको बताएको सुवेदीले जानकारी दिए ।
उनले भने, ‘प्रधानमन्त्री अयोध्याका विषयमा माडीको टोलीसँग छलफलका लागि आतुर हुनुहुन्छ ।’ हाल माडीमा रहेका धार्मिक सम्पदा र पुरातात्विक सामग्रीको संरक्षण गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीले आउँदो रामनवमी पर्वमा ठूलो पूजा गरी काम सुरु गरिने बताएको वडाध्यक्ष सुवेदीले जानकारी दिए । ‘पुरातत्विक विभागसँग समन्वय गरेर अध्ययन र संरक्षणमा जुट्न प्रधानमन्त्रीको निर्देशन छ,’ सुवेदीले भने ।
हालको वडा नम्बर ९ यसअघिको अयोध्यापुरी गाउँ विकास समितिमा पथ्र्यो । यसैबीच, प्रधानमन्त्री ओलीले माडीका नगर प्रमुखसहितका प्रतिनिधिलाई भेट गर्नलाई आज बोलाएका छन् ।
माडी नगरपालिका प्रमुख ठाकुर ढकालले आज प्रधानमन्त्री ओलीले भेटघाटका लागि बोलाएको जानकारी दिए । ढकालका अनुसार वडाध्यक्ष सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का माडी अध्यक्ष प्रभु महतो, सचिव नारदमणि पौडेलसहितको टोली प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आउँदै छ ।
प्रधानमन्त्री ओले गत २९ असार भानुजयन्तीका दिन राम नेपालकै ठोरी क्षेत्रमा जन्मेको हुन सक्ने अभिव्यक्ति दिएका थिए । माडीको अयोध्यापुरी, वाल्मिकी आश्रम, गोद्धकलगायत क्षेत्रमा पुरानो मुद्रा, इँटा, पुराना भवनका अवशेषजस्ता पुरातात्विक वस्तु भेटिँदै आएको छ ।

- ADVERTISEMENT -