चितवन । चितवन जिल्ला फुटबल संघको आयोजनामा ‘स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७’ हुने भएको छ । संघले शनिबार पत्रकार सम्मेलन मार्फत ‘स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७’ हुने जानकारी दिए ।
उक्त प्रतियोगिता चैत १२ देखि २१ गतेसम्म नारायणगढको क्याम्पाचौरमा हुने र प्रतियोगिताको तयारी तिव्र गतिमा भइरहेको संयोजक रामहरि ढकालले जानकारी बताए ।
संघका अध्यक्ष श्रीकृष्ण कार्कीले मैदान मिलाउनेदेखि प्याराफिट निर्माणको काम भइरहेको बताए । प्याराफिट ३ हजार दर्शक क्षमताको हुनेछ । खेलाडी र खेलाडीको परिवारको साथमा संघ सधैं छ भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो ।
उनले फुटबलमै लामो समय बिताएका बिजय खड्गीको निधनले संघ निकै मर्माहत भएको विजयलाई सम्झिदै उनी केही बेर भावुक समेत भएका थिए ।
२०७५ सालमा आफु जिल्ला फुटबल संघको अध्यक्षमा निर्वाचित हुँदा विजयले फोन मार्फत बधाई र शुभकामना दिएको क्षण सम्झिदै कार्की भावुक भएका हुन् । उनलाई शुभकामना दिएको केही दिनमा नै विजयको निधन भएको थियो ।
प्रतियोगिताबाट बचेको रकम बिजयको छोराको अध्ययनका लागि सहयोग गरिने उनले बताए । ‘आफ्नो जीवन नै फुटबलमा सुम्पिएका खेलाडी र उनको परिवारको साथमा संघ छ है भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरेका हौं उनले भने, यसबाट बचेको रकम बिजयको छोराको अध्ययनका लागि सहयोग गर्छौं ।” यस्ता प्रतियोगिताले खेलाडीलाई खेलमा लाग्न प्रेरित गर्ने उनको विश्वास छ ।
चितवनले यसको सुरुवात गरेको भन्दै उनले देशभर नै यस्ता प्रतियोगिताहरु हुनु पर्नेमा जोड दिए । एन्फा २०५७ ब्याचका खड्गीले नेपालबाट अण्डर १३ र अण्डर १४ गरी दुई उमेर समूहका खेल खेलेका थिए । कार्यक्रममा पूर्व फिफा रेफ्री विरेन्द्र पाण्डेले विजयको उत्कृष्ट ड्रिब्लिङ क्षमता प्रशंसा गरे । आफ्नो समयमा उनी ड्रिब्लिङकै लागि प्रख्यात रहेको उनले बताए । एन्फामा पनि उनले राम्रो छाप छोडेका थिए । तर कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारका लागि कतार गएका उनको ३२ वर्षको उमेरमा निधन भएको थियो ।
बिजयको एक छोरा छन् । प्रतियोगितामा ए डिभिजन लिगदेखि राष्ट्रिय टिमका खेलाडी सम्मिलित १० टोली सहभागी हुने संघका महासचिव एवं प्रतियोगिताका संचार संयोजक रामहरि ढकालले बताए । प्रतियोगितामा चितवनका दुईसहित हेटौंडा, पोखरा, काठमाडौं, उदयपुर, बुटवल, नुवाकोट, सिन्धुली र प्रदेश २ को बागमती गरी १० टोली सहभागी हुनेछन् । प्रतियोगिताको बिजेताले ३ लाख तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि २७ लाख ७३ हजार खर्च लाग्ने अनुमान गरिएको छ । खेल हेर्नका लागि टिकटको व्यवस्था गरिएको छ । क्वाटरफाइनलसम्मका खेलका लागि टिकट शुल्क ५० तथा सेमिफाइनल र फाइनलका लागि एक सय रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । टिकट खरिद गर्ने मध्य प्रत्येक दिन गोलाप्रथाबाट एक जनाले स्मार्ट फोन जित्न सक्ने पनि आयोजकले जानकारी दिएको छ ।
प्रायोजकको तर्फबाट बोल्दै सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका प्रवन्ध निर्देशक यज्ञबिलास पौडेल (वाइबी) ले जिल्लाको फुटबल बिकासका लागि सधैं सहकार्य गर्न आफुहरु तयार रहेको बताए । उनले अहिले पनि फुटबलका बिभिन्न गतिविधिमा सेन्ट्रल कलेजले सहयोग गरिरहेको बताए ।
यसैबीच चितवन जिल्ला फुटबल संघका सल्लाहकार एबं युवा व्यवसायी मिलन भट्टराई र उनकी श्रीमती सुनिता न्यौपाने भट्टराईले प्रतियोगितामा नाफा नभए स्व खड्गीको छोरालाई स्नाकोत्तरसम्म अध्ययनमा लाग्ने सबै खर्च व्यहोर्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीका अनुसार प्रतियोगिताबाट अपेक्षित रकम नबचेँको खण्डमा उनिहरुले स्व खड्गीको छोरालाई स्नाकोत्तरसम्म अध्ययनमा लाग्ने सबै खर्च व्यहोर्ने छन् ।
यस्तै प्रतियोगिता सम्पन्न गर्नका लागि उनीहरुले नगद ३ लाख रुपैयाँ सहयोग समेत गरेका छन् ।
चितवनमा चैत १२ देखि ‘स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबल’ हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
