सुनसरी / देवानगञ्ज गाउँपालिका–३, सुनसरीमा मध्यराति दुई समूहबीचको विवादमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।
दुई पक्षबिचको झडप भएपछि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो ।
- ADVERTISEMENT -

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुनसरीको दक्षिण क्षेत्रमा रहेका पाँच बजारमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेका हुन् । कर्फ्यु बिहान ७ बजेदेखि लागू भएको छ । कर्फ्यु जारी भएको समयमा हिँडडुल गर्न भेला, जुलुस, सभा गर्न रोक लगाइएको छ ।
प्रशासनले जिल्लाका पाँच वटा इलाकाको चार किल्ला तोकेर उक्त सिमानाभित्र कर्फ्यु लगाएको हो। जसअनुसार इलाका ‘क’ अन्तर्गत हरिनगरा बजार क्षेत्रको पूर्वमा नुनिया टोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडसम्मको क्षेत्र तोकिएको छ।
- ADVERTISEMENT -

त्यसैगरी इलाका ‘ख’ अन्तर्गत भुटाहा बजार क्षेत्रको पूर्वमा मोरीया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्मको सिमानामा कर्फ्यु लागू भएको छ।
इलाका ‘ग’ अर्थात् कसनागंज बजार क्षेत्रको पूर्वमा यादव टोल, पश्चिममा पाँचौँ सिमल मावि, उत्तरमा कृष्ण मावि र दक्षिणमा नेपाल(भारत सीमा क्षेत्रसम्म आदेश लागू हुनेछ। यस्तै इलाका ‘घ’ अन्तर्गत घुस्की बजार क्षेत्रको पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्मको चार किल्ला तोकिएको छ।
इलाका ‘ङ’ अर्थात् देवानगंज बजार क्षेत्रको पूर्वमा विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिममा मोरीया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालयसम्मको सिमानाभित्र कर्फ्यु आदेश लागू गरिएको प्रशासनले जनाएको छ।


















































