January 21, 2025
- ADVERTISEMENT -

महोत्तरीमा एउटै गाउँका ७ जनाको मृत्यु

May 19, 2021

महोत्तरी / कोरोना महामारीको दोस्रो लहर चलिरहेको अवस्थामा महोत्तरीको एउटै गाउँमा सात जनाको मृत्यु भएपछि गाउँबासी त्रसित भएका छन् । जिल्लाको पिपरा गाउँपालिका–७ मा पर्ने बनौली गाउँमा विगत १५ दिनभित्र सात जनाको मृत्यु भएपछि सो गाउँ भर त्रास फैलिएको हो ।
स्थानीय वैद्यनाथ चौधरीका अनुसार गाउँको एउटै जातिका ६ र अन्य जातिका एक गरी सात जनाको मृत्यु भइसकेपछि अहिले सो गाउँका सम्पूर्ण बासिन्दा भयपूर्ण जीवन बिताइरहेका छन् ।
सो गाउँमा मृत्यु भोज, विवाह भोज र व्रतबन्ध भोजजस्ता कार्यक्रमहरू भइरहेको र सयौँको सङ्ख्यामा मानिसहरु एकै थलोमा बसेर भोजभतेर खाने गरेको पाइएको छ ।
कोरोनाकै कारण विभिन्न अस्पतालमा मृत्यु भएकाहरुको पनि गाउँमा दाहसंस्कारदेखि श्राद्ध कर्म भइरहेको र सो क्रममा भोजभतेर र सयौँ मानिस एकै ठाउँमा जमघट हुने गरेका छन् । यसका अलावा कोरोना महामारीकै बीचमा गाउँभरी अहिले व्रतबन्ध र विवाह जस्ता कार्यक्रम पनि भइरहेको वडाध्यक्ष रुपेश झाले स्वीकार गरे ।
वडाध्यक्ष झाले आफू गाउँलेहरूलाई भीडभाड नगर्न, भोजभतेर नगर्न, विवाह, व्रतबन्धजस्ता शुभ कार्यमा स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पूरा गर्न भनिरहँदा पनि गाउँलेहरु आफ्नो परम्परा र संस्कार भन्दै बेवास्ता गर्दै सबै क्रियाकलापहरू सञ्चालन गर्ने गरेको बताए । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -