भरतपुर / नेपालका २० प्रेरणादायी व्यावसायिक महिला उद्यमीहरूको सूचीमा रत्ननगर, चितवनकी जानकी चौधरी परेकी छन् ।
चौधरीले उक्त सूचीमा आफ्नो नाम समावेश भएपछि यसलाई व्यक्तिगत सम्मान मात्र नभई आफ्नो संघर्ष, निरन्तर मेहनत, आत्मविश्वास र उद्यमशील यात्राको कदर भएको प्रतिक्रिया दिएकी छन् ।
- ADVERTISEMENT -

उनले सामाजिक सञ्जालमार्फत यो उपलब्धिको श्रेय परिवार, गुरु, साथीभाइ, सहकर्मी तथा शुभेच्छुकहरूलाई दिँदै सबैप्रति हार्दिक आभार व्यक्त गरेकी छन् । आफूलाई निरन्तर साथ, विश्वास र प्रेरणा दिने सबैको सहयोगले नै यो उपलब्धि सम्भव भएको उनको भनाइ छ ।
यो उपलब्धि आफूमा मात्र सीमित नभई ठूलो सपना देखेर त्यसलाई साकार पार्न निरन्तर प्रयासरत प्रत्येक नेपाली महिलाको साझा प्रेरणाका रूपमा लिनुपर्ने उनले उल्लेख गरेकी छन्।
- ADVERTISEMENT -

उनले आगामी दिनमा महिला उद्यमशीलता, नेतृत्व विकास र समाज रूपान्तरणका क्षेत्रमा अझ सक्रिय र समर्पित भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् । थप जिम्मेवारी र उत्साहका साथ आफ्नो यात्रा निरन्तर अघि बढ्ने उनको भनाइ छ ।
उनको यो उपलब्धिप्रति सामाजिक सञ्जालमा शुभेच्छुक, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्।


















































