–हिरालाल आचार्य ‘डायमण्ड’
चितवन / नारायणी नदी उत्खनन्मा प्रयोग गरिएको १५ वटा टिप्परहरुमा स्थानीयले तोडफोड गरेका छन् । भरतपुर महानगरपालिका १६ सानुगढीस्थित ज्ञानेश्वर सामुदायिक वनस्थित सडकमा लामवद्ध रहेका १५ वटा टिप्परलाई आज बुधबार बिहान स्थानीयले तोडफोड गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) सुर्य थापाले पुष्टि गरे ।
कोरोना महामारीका कारण चितवनका निषेधाज्ञा जारी छ । यस्तो बेलामा पनि जथाभावी नदी उत्खनन् गर्दै अनावश्यक भिडभाड गरेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।
कोभिड–१९ को मौका छोपेर गरिएको उत्खनन्ले भरतपुरका अधिकांश क्षेत्रमा टिप्पर आतंक नै फैलिएको स्थानीयले बताएका छन् ।
ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले निषेधाज्ञा भएका बेला भरतपुरमा टिप्पर आतंक भएको बताए । उनले भने, ‘उत्खनन् भएको ठाउँमा कोरोनाले गर्दा अनुगमन भएको छैन । जसलाई जे मन लाग्यो त्यही गरेको छ । जथाभावी उत्खनन्ले बाढीको जोखिम र जंगल पनि विनास हुने अवस्था छ ।’
‘पटकपटक गाउँलेले वनको तर्फबाट जथाभावी उत्खनन् रोक्न पहल गुर्नस भनेपछि हामीले पनि वन डिभिजनलाई पत्र पठाएका थियौं । तर सुनुवाइ भएन’ उनले भने ।
उत्खनन् कार्य निरन्तर रहेका कारण गाउँलेहरु स्वस्फूर्त रुपमा आएर ट्रकमा तोडफोेड गरेको उनको भनाइ छ । ‘वन्यजन्तु, टिप्पर र बाढीबाट पीडा खेपेका स्थानीयको यो पीडाको आक्रोश हो’ उनले थपे, ‘अति भएपछिको खति हो यो ।’
राज्यको प्राकृतिक स्रोत साधनको उचित रुपले प्रयोग हुनुपर्छ भनेर वनले उत्खनन्का लागि स्वीकृत दिएको भएपनि जथाभावी उत्खनन् हुन थालेपछि स्थानीय आक्रोशित बनेको उनले बताए ।
‘यहाँबाट महानगरले वर्षेनी करोडौं रकम लैजान्छ । तर त्यसको केही रकम यही क्षेत्रको वन्यजन्तुबाट जोगाउन लगानी गर्न सके र तटबन्धन गर्न सके स्थानीयलाई केही राहत हुने थियो’ उनले भने ।
अब हामीले यो उतखनन् कार्य नै हुन दिँदैनौ भन्दै उनले भने स्थानीयको भनाइअनुसार नै वन अघि बढ्ने बताए । अब अर्काे वर्षबाट आइइ नगरी महानगरले उत्खनन् गर्न खोजेमा वनले पनि स्वीकृत नदिने उनको भनाइ छ ।
उत्खनन्को जिम्मा पाएको भिष्म एण्ड ब्रोदर्श कन्ट्रक्शनका एक्जुकेटिभ डाइरेक्टर बिकल क्षेत्रीले स्थानीय प्रशासनसँग नै समन्वयन गरेर काम गरिरहेको बताए । भरतपुर महानगरले नै आफूहरुलाई निषेधाज्ञामा काम गर्न भनेकाले काम गरेको उनको भनाइ छ ।
‘हामीले राजस्व बुझाएका छौं । बैंक ग्यारेन्टी बुझाएका छौं । महानगले काम गर्नुस नत्र पैसा तान्दिछौं भन्यो । काम नभए ब्ल्याकलिस्टमा राख्छौं भन्यो, उनले भने, ‘हामी निरीह छौं । लगानी डुब्ने डरले यस्तो समयमा पनि काम गर्न बाध्य भयौं ।’
यति ठूलो विवाद आएपछि आफूहरुले काम गर्न नसक्ने उनले बताए । ‘हामी नयाँ हौं यो ठाउँमा । यो ठाउँको विवाद महानगरलाई थाहा हुनुपर्ने । हामीलाई थाहा भएन । यहाँका स्थानीय र वडाको सहमति बिना नै महानगरले एकलौटी रुपमा काम गरेकाले यस्तो विवाद आएको छ ।’
उनले महानगरले यस क्षेत्रको विवादको बारेमा आफूहरुलाई लुकाएको उनले बताए । स्थानीयको माग हामीले जाली हालेर सम्वोधन गरेको भए पनि महानगरका तर्फबाट केही पनि नहुँदा स्थानीय आक्रोशित बनेको उनले बताए ।
‘राजस्व अशुल्नका लागि महानगरले ठेक्का खोल्छ भने गाउँको पनि विशेष सम्बोधन हुनुपर्ने । गाउँको समस्या के छ । आइइ रिर्पाेट बनाउने जस्ता कुरा गर्नुपर्छ । यो महानगरको काम हो । कोरोनाको बेला टेण्डर खुलाउनै नहुने’ उनले भने ।
‘नगरपालिकाले निषेधाज्ञा भयो तपाईंहरुको पैसा फिर्ता दिन्छौं काम नगर्नुस भनेको भए हामी गर्दै गर्थेनौं, उनले भने, ‘हामीले नचाहँदा नचाहँदा नचाहँदै पनि महानर नगरपालिकाका कारण काम गर्न बाध्य छौं ।’
आफूहरुले १ करोड ६९ लाख महानगरलाई बुझाइसकेको बताउँदै उनले ३ करोड ३४ लाख रुपैयाँ बैंक ग्यारेन्टी राखेको बताए । निषेधाज्ञाको बाहनामा काम नगरे रकम जफत गर्छाै भनेर महानगरले चेतावनी दिएका कारण आफूहरुले काम गरेको उनको भनाइ छ । महानगरले ब्लयाक लिस्टमा पार्ने चेतावनी दिएर यस्तो बेला पनि काम गर्न बाध्य परेको उनको भनाइ छ ।
महानगरका प्रवक्ता अरुणपीडित भण्डारीले आइइ गरेर नै काम गरिरहेको दाबी गरेका छन् । जेठमसान्तसम्म समय ठकेदारलाई समय तोकिएकाले काम गर्न भनिएको उनले बताए । ठेकेदारले उत्खनन् गर्दा आचारसंहिता उल्लघंन गरिएको पाइएकाले त्यसबारे निर्णय हुने उनको भनाइ छ । जनताले उत्खनन् कार्य रोकेकाले उनीहरुसँग छलफल गरेर, समस्या बुझेर, वस्तुगत कुरा बुझेर अघि बढ्ने उनको भनाइ छ ।
महामारीमा नदी दोहनले स्थानीय आक्रोशित, १५ वटा टिप्पर तोडफोड

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
