चितवन / नारायणी नदी किनारमा जारी दोस्रो ‘नारायणी महोत्सव’मा शनिबार साँझ राष्ट्रिय कलाकार निश्चल दवाडीको सांगीतिक प्रस्तुतिले दर्शकलाई भरपुर मनोरञ्जन दिएको छ । चिसो सिरेटोका बीच पनि दवाडीका लोकप्रिय गीतमा दर्शक झुमेका थिए ।
महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक राजेश भुजेलका अनुसार दवाडीले ‘गोर्खे खुकुरी लाहुरे कम्मरमा … ’, ‘हाम्दाकी गुलेली तन्काई रबर, मगर्नी नानीको हिले खबर … ’ र ‘कस्मिरे पछ्यौरी, दार्जिलिङको रेल … ’ लगायतका गीत प्रस्तुत गर्दा दर्शकले नाचेर र गाएर साथ दिएका थिए ।

राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुतिसँगै महोत्सवमा दर्शकको आकर्षण र उपस्थिति बढ्दै गएको आयोजकले जनाएको छ ।
यसैबीच, महोत्सवमा आज (आइतबार) राष्ट्रिय कलाकार रविन लामिछाने, तारा थापा र जादुगर गुन्द्रुकेको प्रस्तुति रहने कार्यक्रम संयोजक भुजेलले जानकारी दिए । तीनै कलाकारको विशेष प्रस्तुतिले महोत्सवमा सहभागी दर्शकलाई थप मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।
- ADVERTISEMENT -
















































