September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा एक सय शय्याको आयुर्वेद अस्पताल निर्माण प्रक्रिया सुरु

August 18, 2022

चितवन / मेडिकल सिटीको रुपमा विकसित हुँदै गएको भरतपुरमा एक सय शय्याको वैकल्पिक चिकित्सा पद्दतिसहितको आयुर्वेदिक अस्पताल निर्माण प्रक्रिया सुरु गरिएको छ । भरतपुर महानगरपालिका–१५ शिवनगरमा उक्त अस्पताल निर्माण गर्न लागिएको छ ।
सरकारको एक प्रदेशमा एउटा सुविधासम्पन्न आयुर्वेद अस्पताल बनाउने नीति अनुरुप यहाँ अस्पताल बनाउन लागिएको हो । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको बजेटअनुसार यो भवन भरतपुरस्थित सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गर्दै छ ।
कार्यालयका प्रमुख ई प्रकाश अर्यालका अनुसार भवनका लागि रु ५५ करोडको बजेटसहित बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भइसकेको छ । कार्यालयले नक्शाङ्कनको काम अघि बढाइसकेको र तीन÷चार महिनामा नक्शा बनाएर निर्माणका लागि बोलपत्र आह्वान गरिँदै छ ।
राष्ट्रिय भवन संहिताअनुसार स्वास्थ्य मन्त्रालयको मापदण्ड बमोजिम आधुनिक र आकर्षक अस्पताल भवन बनाइने भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा कोपिला अधिकारीले आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथीलगयात वैकल्पिक चिकित्सा पद्दतिलाई एउटै छातामुनी सञ्चालन गर्ने गरी अस्पताल बनाउन लागिएको बताउनुभयो ।
नेपालमा काठमाडौँको नरदेवीमा एक सय शय्या र सुदूरपश्चिममा ५० शय्याको अस्पताल सञ्चालनमा छन् । अन्य प्रदेशमा भन्दा यहाँ छिटो काम हुन लागेको उहाँले जानकारी दिनुभयो । सोही ठाउँमा ३०० शय्याको शिक्षण अस्पतालसमेत बन्दै छ ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आयुर्वेदिक अस्पताललाई आवश्यक जग्गा उपलव्ध गराइसकिएको बताउनुभयो । “जिल्लामा अन्य उपचारसँगै आयुर्वेद उपचारमा यो अस्पताल महत्वपूर्ण बन्ने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो “वैकल्पिक चिकित्सा पद्दतिलाई एउटै छातामुनी सञ्चालन गर्नेगरी अस्पताल निर्माण गर्न लागिएको हो ।
आयुर्वेद अस्पताल निर्माणका लागि महानगरले पहल गरेको थियो ।” “सरकारी र निजी स्वास्थ्य संस्था यहाँ स्थापना र प्रवद्र्धनका लागि महानगरपालिकाले भूमिका निर्वाह गर्दै आएको र केही वर्षभित्रै भरतपुर देशभरका बिरामीको उपचारको केन्द्र बन्दै छ ।” उहाँले महानगरप्रमुख दाहालले भन्नुभयो “भरतपुर अन्य क्षेत्रसँगै स्वास्थ्य पर्यटनको केन्द्र बन्दैछ । यसको व्यवस्थापनका लागि महानगरले काम गरिरहेको छ ।” अहिले क्यान्सर अस्पतालले देशैभरका बिरामीलाई सेवा दिएको र शिक्षण अस्पताल बनेसँगै सोही अनुरुपमा देशभरका शिक्षकले सेवा पाउने अपेक्षा गरिएको छ ।
भरतपुरमा सङ्घीय भरतपुर अस्पताल, क्यान्सर अस्पताल, दुई वटा मेडिकल कलेज, २४ भन्दा बढी साना ठूला अस्पताल, आँखा अस्पताल, औषधि उद्योग सञ्चालनमा छन् । निजी क्षेत्रका दुईवटा क्यान्सर अस्पताल, शिक्षण अस्पताललगायत निर्माणको प्रक्रियामा रहेका छन् ।
राजधानी बाहिर सबैभन्दा बढी स्वास्थ्य सेवा दिने ठाउँको रुपमा भरतपुरलाई लिने गरिन्छ । एकीन तथ्याङ्क नभए पनि वार्षिक रु २० लाख हाराहारीले यहाँबाट सेवा लिने गरेको अनुमान गरिएको छ । भारतीय सीमा क्षेत्र र नेपालभरीबाट यहाँ उपचारका लागि बिरामी आउने गर्दछन् । –रासस