२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

दुई सातादेखि उत्तरी १० नाका ठप्पै, आयात हुने सामग्री बिग्रन थाले

प्रकाशित मिति : २०७९ भाद्र १२ गते

तातोपानी / नाका सञ्चालनमा नआएका कारण लोड भएर आयात गर्न लागिएका सामग्री बिग्रन थालेको व्यापारी बताउँछन् ।
चीनतर्फका दुई नाका रसुवागडी र तातोपानी अघोषित रूपमा एकतर्फी बन्द छन्। दुई सातादेखि यी नाका हुँदै कुनै पनि सामान वारपार भएको छैन। भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराई चीनद्वारा औपचारिक जानकारी बिना दुवै नाका बन्द भएको बताउँछन्।
‘कहिलेबाट सञ्चालनमा आउने सूचना छैन। ठ्याक्कै यो कारणले बन्द भएको भन्ने जानकारी नभए पनि कोभिडका कारण बन्द भएको हुन सक्छ,’ महानिर्देशक भट्टराईले भने। दुई देशबीचको वाणिज्य सम्बन्ध भएका कारण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई नाका बन्दबारे मौखिक जानकारी गराएको उनी बताउँछन् ।
यी नाका हुँदै करिब २५ प्रतिशत व्यापार हुने भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ। यसले दैनिक आपूर्ति र मूल्यमा थप चाप पर्ने देखिन्छ। नयाँ लुगा र मासु बढी खपत हुने चाडनजिकिँदै गरेकाले पनि चिनियाँ नाका बन्दले यसको आपूर्तिमा चाप पने महानिर्देशक भट्टराई बताउँछन्।
औपचारिक जानकारी नआएकाले कसरी खुलाउन पहल गर्ने भन्ने अन्योलमा सरकार पनि देखिएको छ। ‘सम्बन्धित मन्त्रालयसँग नाका खुलाउन कुरा भएको छ। हामी पहल गर्छौं भन्ने उत्तर आएको छ। अरू हामीले केही गर्न सक्दैनौं,’ महानिर्देशक भट्टराईले भने ।
नेपाल–चीनबीच वस्तु व्यापारका लागि भन्दै ९ जिल्लाका १० नाका खुला गरिएका छन्। तर, पूर्ण सञ्चालनमा भने रसुवागढी र तातोपानी नाकामात्र थिए। ‘अहिले तत्काल सञ्चालनमा रहेका नाका भनेको तातोपानी र रसुवागढी हो। मौसमी वा हिउँ नपरेको बेलामा चल्ने भनेको किमाथांका नाका पनि हो। तर, तत्कालको अवस्थामा भने यी पनि बन्द छन्’, भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्का बताउँछन् ।
नेपाल चीन व्यापारिक कतिपय नाका २०१३–१४ सालदेखि नै खुला भएका हुन्। तर, व्यापारिक वा राजस्व संकलनका लागिभन्दा पनि दुई देशबीचको आपसी÷आवातजावत र सीमानाका लागि वस्तु ओसारपसार गर्न खुला गरिएको हो। उत्तरी धेरै नाकामा बाटोको पूर्वाधार नै छैन।
सुरक्षाका दृष्टिले पनि दुईदेशीय व्यापारका लागि सबल बनिनसकेको सूचना अधिकारी खड्का बताउँछन्। प्रायः नाका पुराना बार्टर सिस्टममा चलेका हुन्। अब अहिले आधुनिक अवस्थामा पूर्वाधार खडा बिना चीनले सहजै अनुमति नदिने उनको भनाइ छ। चीन पक्षले कोरला नाकामा सबै पूर्वाधार बनाएर बसेका छन्। तर, नेपाल पक्षले भने पूर्वाधार तयार गर्न सकेका छैनौं। सुरक्षाकर्मीको उपस्थिति पनि नगन्य अवस्थामा छ ।
दसैंका सामग्री आयात अन्योल
नाका बन्द हुँदा नेपाली व्यापारीले चाडपर्व र जाडो मौसमका लागि ल्याउन लागेका सामग्री चीनको केरुङ र खासामा नै रोकिएका छन्। नाका सञ्चालनमा नआएका कारण लोड भएर आयात गर्न लागिएका सामग्री बिग्रन थालेको व्यापारी बताउँछन्। ‘नाका कहिले खुल्छ थाहा छैन। त्यहाँ लोड भएका लसुन, अदुवा, स्याउलगायतका सामग्री कुहिन थालेका छन्,’ तातोपानी नाकामा व्यापार गर्दै आएका दोर्जे लामाले भने। २०७१ सालअघिसम्म तातोपानी नाकाबाट सामग्री आयात निर्यात गर्न समस्या थिएन ।
२०७२ मा भूकम्पपछि बन्द भएको नाका २०७६ मंसिरबाट खुल्यो। तर, पहिले जस्तै पूर्ण रूपमा सञ्चालनमा आउन सेकेन। पहिला १ सयभन्दा बढी कन्टेनर तातोपानीबाट नेपाल भित्रिने गरेकोमा अहिले दैनिक १० कन्टेनर पनि नभित्रिने तोतोपानी भन्सार प्रमुख नारद गौतम बताउँछन्। अहिले दैनिक करिब १ करोड राजस्व उठ्ने गरेको उनले जानकारी दिए ।
यता, रसुवागढी नाकामा व्यापार गर्दै आएका धर्म पौडेलले चिनियाँ ३० वटा गाडी लोड भएर बसेको बताए। ‘चिनियाँ गाडीले सामग्री लोड गरेर नेपालतर्फ ल्याउन लागेका थिए। त्यही समयमा तिब्बत क्षेत्रमा कोरोना बढ्यो। कोरोना बढेपछि सवारी साधन सञ्चालन तथा मानिसहरू घरबाहिर निस्कनसमेत रोकियो’, उनले भने ।
कोरोना कै कारण नाका बन्द भएकाले कोरोना नियन्त्रणमा नआई नाका खुला हुने सम्भावना नरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैशीले बताए। ‘केही समयअघि चिलोङ काउन्टीका अधिकारीसँग सामाजिक सञ्जाल बिच्याटमा कुराकानी भएको थियो’, प्रजिअ जैशीले भने, ‘त्यतिबेला कोरोना बढेकाले केही समय नाकाबाट सामग्री आयात निर्यात रोकिने बताएका थिए।’ त्यसपछि चिनियाँ अधिकारीसँग कुराकानी नभएको उनले बताए ।
रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत राम मैनालीले नाका खुलाउने बारे चिनियाँ पक्षले कुनै पनि जानकारी नदिएको बताए। ‘गत शनिबारदेखि सामग्री आयात भएको छैन’, उनले भने, ‘अनौपचारिक रूपमा उता कोभिड देखिएको भन्ने जानकारी आएको छ ।’
रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुन्छ। नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ ।
३ वर्षदेखि ओलाङचुङगोला नाका ठप्प
ताप्लेजुङको उत्तरी क्षेत्र याङ्माकी फुटि शेर्पाको माइती चीनको स्वशासित क्षेत्र तिब्बतको रिउ हो। गत साउनमा उनकी आमाको मृत्यु भएको खबर पाइन्। तर, नाका बन्द भएको कारण जान पाइनन्। धार्मिक संस्कारअनुसार यतैबाट आमाको नाममा बत्ती बालिन्। भन्छिन्, ‘माइती नगएको ३ वर्षभन्दा बढी भयो।’ याङ्मामा विवाह गरी आएका धेरै बुहारीको माइती चीनको तिब्बत हो। कोरोना महामारीका कारण सीमा नाका बन्द भएपछि पुनः खुलेको छैन। व्यापार मात्रै नभई पारिवारिक आवातजावत पनि बन्द भएको छ ।
स्थानीयले उत्पादन गरेको सामग्री निर्यात र खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको आयात पनि ठप्प छ। वार्षिक ४० देखि ५० वटासम्म याक र चौरी बिक्री गर्ने पशुपालकको व्यवसाय पनि ठप्प छ। ‘अहिले चार वर्ष भयो बिक्री गर्न पाएको छैन। व्यापार पनि ठप्प भयो,’ याङ्माका फिन्जो भोटेले भने, ‘गोठमा २ सयभन्दा बढी वस्तु भएका छन्। नुन पु¥याउनै गाह्रो भयो।’
यहाँका स्थानीय तिब्बतको रिउ बजारसँग आश्रित छन्। तर, नाका बन्द भएपछि नुनदेखि लिएर दैनिक उपभोग्य सामग्रीसमेत महँगो ढुवानी भाडा तिरेर सदरमुकाम फुङ्लिङदेखि बोकाउनुपर्ने बाध्यता छ। ‘फुङ्लिङबाट बोकाएर ल्यायो। तर, पनि वस्तुले तलको नुन सहेन, बिरामी हुने, उल्टिने जस्ता समस्या देखिएको छ,’ याङ्मा कै पशुपालक किसान छेम्जे शेर्पाले भनिन्।
अहिले याङ्मामा १ हजार, ओलाङचुङगोला क्षेत्रमा पाँच सय, घुन्सा क्षेत्रमा पाँच सय गरी २ हजारभन्दा बढी चौंरी तथा याक बिक्री गर्नका लागि तयार भएका छन्। यसअघि वयस्क याक १ लाख ५० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो। अन्य याक औसतमा ७० हजार रुपैयाँमा तिब्बतमा बिक्री हुने गरेको थियो। सोही दरमा हिसाब गर्ने हो भने १४ करोड बढीको याक तथा चौरी बिक्री नभई रोकिएको फुक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङ्गोलाका वडाध्यक्ष छेतेन लामा बताउँछन्।
पशु चौपाय मात्रै नभएर गलैंचा, जडिबुटी लगायतका सामान पनि थन्किएको छ। वडाध्यक्ष लामाका अनुसार ओलाङचुङगोलामा मात्रै ५ सयभन्दा बढी गलैंचा घरैमा छन्। महामारी अघिसम्म एकजोडी गलैंचा तिब्बतमा ३५ हजार रुपैयाँमा बिक्री हुने गरेको थियो। त्यसलाई नै आधार मान्ने हो भने ८७ लाख रुपैयाँको गलैंचा गोला मै छन्। नाका बन्द भए पनि गलैंचा उत्पादन गर्न भने यहाँका महिलाहरूले बन्द गरेका छैनन्। तर, यसका लागि आवश्यक धागो, रङ आदि सामग्री काठमाडौंबाट खरिद गर्नुपर्दा लागत बढेको स्थानीय पेमा याङ्गी शेर्पा बताउँछिन्।
बन्द भएको नाका तत्काल खोल्नका लागि पहल गरिदिन स्थानीयले माग गरेका छन्। तर, चीनतर्फबाट भने नाका खोल्ने विषयमा खासै चासो नदिएको वडाध्यक्ष छेतेनले बताए। तीन वर्षदेखि बन्द रहेको नेपाल–चीन नाका खुलाउन पहलको माग गर्दै फक्ताङ्लुङ गाउँपालिकाले गत साता जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो। गाउँपालिका अध्यक्ष राजन लिम्बूले पत्र लेखेरै प्रशासन कार्यालयलाई सहजीकरणका लागि अनुरोध गरेका थिए।
अन्तरदेशीय व्यापार मेला अन्योल
चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरलानाकामा बर्सेनि सञ्चालन हुने अन्तरदेशीय व्यापार मेला विगत ३ वर्षदेखि हुन सकेको छैन। कोरोनाका कारण बन्द रहेको व्यापार मेला पुनः सञ्चालन नभएको हो।
कोरलानाका लामो समयदेखि बन्द रहँदा सीमावर्ती क्षेत्रका बासिन्दालाई दैनिक अति आवश्यकीय सामग्री खरिद बिक्री गर्नमा पनि समस्या परेको छ। कोरोनाअघि चीन र नेपाल पक्षको आपसी समझदारीमा बर्सेनि असार र भदौ महिनामा दुई पटक व्यापार मेला लाग्थ्यो। मुस्ताङको सीमावर्ती क्षेत्रका बासिन्दालाई लक्षित गर्दै उत्तरी कोरलानाकाको करिब १० किलोमिटर चीनको तिब्बती भूमिमा व्यापार मेला सञ्चालन हुन्थ्यो। व्यापार मेलामा नेपालतर्फको सीमावर्ती क्षेत्रका बासिन्दाले भेडा, च्यांग्रा, खाद्यान्न, लत्ताकपडा, निर्माण सामग्री, किराना सामग्री, इलेक्ट्रोनिक सामग्री, इन्धन र कस्मेटिकलगायतका सामग्री आयात गरिन्थ्यो। नेपालबाट भने बहुमूल्य यार्सागुम्बा, पश्मिना, आलु र फापरलगायतका सामग्री चीनतर्फ निर्यात हुन्थ्यो।
अन्तरदेशीय व्यापार मेला लामो समयसम्म पुनः सञ्चालनमा आउन नसकेपछि मुस्ताङको संघीय सांसद प्रेमप्रसाद तुलाचनले गत जेठमा संघीय संसद्मा यस विषयमा ध्यानाकर्षण गराएका थिए। उनले मुस्ताङको उत्तरी कोरलामा हुने व्यापार मेला कोभिडका कारण रोकिएको र त्यसलाई संञ्चालनमा ल्याउन सदन मार्फत परराष्ट्र मन्त्रालयको ध्यानआर्कषण गरेका थिए।
उनले साउन ९ गते कोरला व्यापार मेला पुनः सञ्चालन ल्याउ पहल गर्न चीन पक्षलाई लिखित अनुरोध पनि गरेका थिए। सांसद तुलाचनको लिखित अनुरोधको प्रतिउत्तरमा चीन पक्षले साउन २४ गते नेपाली महावाणिज्य दूतावासमार्फत कूटनीतिक नोट नेपाल पठाएको थियो। नोटमा कोरोनाका कारण नाका खोल्दा जोखिम हुने उल्लेख थियो। चीन पक्षको कूटनीतिक नोटमा नेपाल–चीनबीच हुने व्यापार तथा पारवाहन मार्ग विस्तार गर्न चीन पक्षले भौतिक संरचना निर्माण सम्पन्न गरेको र नेपाल पक्षले पनि सडक र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उल्लेखसमेत गरेको छ।
मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले पनि कोभिडको कारण देखाउँदै चीन पक्षले व्यापार मेला सञ्चालन गर्नेतर्फ चाँसो नदिएको जानकारी दिए। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले सदियौं वर्षदेखि नेपाल–चीन व्यापार मेला सञ्चालन हुँदै आइरहे पनि पछिल्लो तीन वर्ष कोभिडका कारण ठप्प रहेको जानकारी दिए। लगातार तीन वर्षदेखि उत्तरी कोरलानाकामा हुने व्यापार मेला नहुँदा सरकारले बर्सेनि १५ लाख राजस्व गुमाउँदै आएको छ।
भारतीय नाकाबन्दीपछि सरकारले उत्तर÷दक्षिण व्यापारिक मार्ग विस्तार गर्न उत्तरी कोरलानाका जोड्ने उद्देश्यले २०७४ सालदेखि सडक बिस्तार अभियानलाई तीव्रता दिएको छ। राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत बेनी–जोमसोम ४ खण्ड र जोमसोम–कोरला ७ खण्डमा काम भइरहेकोमा जोमसोम–कोरला ६ खण्डको काम सम्पन्न भइसकेको छ भने एउटा खण्ड अन्तिम चरणमा छ।
किमाथांका अझै शिल
संखुवासभाको किमाथांका नाका तीन वर्षदेखि सिल छ। अन्य उत्तरी नाकाभन्दा होचो र मानवबस्ती रहेको किमाथांका नाका सञ्चालनमा ल्याउन सरकारले कुनै पहल नगर्दा स्थानीयले सास्ती खेप्नुपरेको छ। २०७६ साल माघ ५ देखि शिल भएको नाका हालसम्म खुलाउन नेपाल र चीन दुवै देशका सरकारले कुनै पहल गरेका छैनन्।
अन्तर्राष्ट्रिय कानुनअनुसार नेपाल र चीनबीच राहदानी र प्रवेशाज्ञा लिएर मात्र आवतजावत गर्ने व्यवस्था भए पनि मानवीय र व्यावहारिक दृष्टिले सीमा क्षेत्रका बासिन्दाहरूले परापूर्व कालदेखि नै आ–आफ्नो आवश्यकताका वस्तुहरू किनबेच गर्दै आएका थिए। नेपाल चीन सीमानाको भोटखोला गाउँपालिका सदरमुकाम खाँदवारीबाट ३० कोष टाढा पर्छ। किमाथांका नाका बन्द भएपछि यो क्षेत्रका बासिन्दाले खाँदवारीदेखि खाद्यन्न ढुवानी गर्नुपर्ने बाध्यता छन्।
नाका अझै नखुल्दा दैनिक खाद्यवस्तुको अभावका कारण भोटखोलावासीले सास्ती खेप्नु परेको भोटखोला गाउँपालिका अध्यक्षवाङ छेदर लामाले बताए। विकट भूगोलमा अवस्थित भएका कारण भोटखोला गाउँपालिकाभित्र कृषियोग्य जमिन न्यून छ। कात्तिक महिनादेखि चैत महिनासम्म हिउँ पर्ने भएकाले जमिनमा पनि अपेक्षित मात्रामा खेतीपाती हुँदैन।
चीन सरकारले एकतर्फी सिल गरेको नाका खुलाउन स्थानीय सरकारले गरेका विभिन्न प्रयासहरू असफल भएको गाउँपालिका अध्यक्ष लामाले बताउँछन्। यसका लागी केन्द्रीय सरकारले तत्काल कदम चाल्नुपर्ने उनको माग छ। भने, ‘नाकाबन्दलाई अझ कडाइ गरिँदा स्थानीयको जनजीवन कस्टकर बनेको छ।’
भोटखोला गाउँपालिकाका गाउँहरू किमाथांका, छुमसुरच्याम्ताङ, रिदाक, थुदाम, चेपुवा, रुकुमा, हुँगहुँग, हटिया, नामासे, स्याक्सिलालगायतका गाउँमा बसोवास गर्ने हजारौं परिवार दैनिक आवश्यक वस्तुका लागि चीनको सीमावर्ती बजारमा निर्भर रहँदै आएका छन्।
किमाथांकाबाट हुङ्गुङ आएर खाद्यन्न लैजान ४ दिन खर्चनु पर्ने अध्यक्ष लामाले बताए। वर्षाकाकारण बाढी पहिरोले बाटोसमेत अवरुद्ध हुँदा स्थानीय आफैंले समान ढुवानी गर्ने गरेका छन्। बाटो सहज हुँदा चौंरीले खाद्यन्य ढुवानी गर्छन्। अध्यक्ष लामाले भने– ‘मानिसले ढुवानी गर्दा किमाथांकामा चामल प्रति केजि १८३ रुपैयाँ पर्छ।’ खाँदवारीमाप्रति केजी ४० रुपैयाँमा पाइने चामल १ सय ८३ रुपैयाँसम्मा किमाथांकामा किन्न बाध्य छन्।
गोलाबाट हुङ्गुङ हुँदै किमाथांकानाकासम्म चौरीबाट ढुवानी गर्दा चामलप्रति केजी १ सय ५० रुपौयाँ पुग्छ। चीनको देन्दाङ र चाँगाबजार प्रवेशमा रोक लगाएपछि किमाथांकाबाट वारिपारि एक–डेढ घण्टामा खाद्यान्नदेखि दैनिकउपभोग्य वस्तुहरू किनमेल गरेर फर्कने किमाथांकावासीले खाँदवारीबाट लगेको करिब १० दिनमा मात्र उपभोग्य वस्तुहरू पाउने गरेका छन्।
लामो समयदेखि बन्द रहेको नाका खुलाउन स्थानीय प्रशासनको तर्फबाट गृह मन्त्रालयमा पत्रचार गरिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए। सदरमुकाम खाँदबारीदेखि किमाथांका नाका १ सय ६२ किलो मिटर टाढा पर्छ।
लिमी र हिल्सा पनि बन्द
कर्णाली प्रदेशको उत्तरमा दुई मात्र नाका छन्। ती हुन् लिमी र हिल्सा। ती नाका तीन वर्षदेखि बन्द छन्। नाका लामो समयसम्म बन्द हुँदा हुम्लाबासीले हैरानी भोग्नु परेको छ। कोरोनाकालदेखि बन्द भएका नाका हालसम्म खुल्न सकेका छैनन्। नाका बन्द हुँदा हुम्लाका स्थानीय बजारमा खाद्यान्न, दैनिक उपभोग्य सामान, लत्ताकपडादेखि निर्माण सामग्रीको अभाव छ। नेपालगन्जबाट जहाजमा चर्को मूल्यमा ढुवानी भएको सामान किन्न यहाँका नागरिक बाध्य छन्।
हुम्लाका नागरिक अगुवा राजन रावतले भने, ‘लिमी र हिल्सा नाका बन्द हुँदा यहाँका नागरिकलाई निकै समस्या भएको छ, विकास निर्माणका सामग्री, खाद्यान्न र दैनिक उपभोग्य सामानको अभाव छ।’ जिल्लामा ती दुई नाकाबाटै उपभोग्य सामान आयात गर्न सहज हुन्थ्यो।
नाका बन्द भएपछि हाल नेपालगन्जबाट जहाजमा प्रतिकिलो ३ सय ५० रुपैयाँ भाडा तिरेर ल्याउनुपर्छ। कतिपय कर्णाली करिडोरबाट ढुवानी भएको सामान हुम्लाको सरीसल्लाबाट दुई दिन पैैदल हिँडेर थाप्लोमा भारी बोकेर ल्याउँछन्। नेपाली सेनाद्वारा निर्माणाधीन कर्णाली करिडोरको सरीसल्लामा पुल नहुँदा मान्छेहरू थाप्लोमा भारी बोकेर दैनिक उपभोग्य समानहरू ल्याउने गरेका छन्। हुम्लाको सिमकोट गाँउपालिकाका अध्यक्ष विजय भण्डारीले लिमी र हिल्सा नाका बन्द हुँदा निर्माण सामग्रीको अभावकै कारण स्थानीय निकायले गर्ने विकास निर्माणका योजनाहरू पनि प्रभावित भएको बताए ।
नेपाल–चीन नाका
ओलाङचुङगोला–ताप्लेजुङ
किमाथांका–संखुवासभा
लामाबगर–दोलखा
तातोपानी–सिन्धुपाल्चोक
रसुवागढी–रसुवा
लार्के–गोरखा
कोरला–मुस्ताङ
नाक्चेलाग्ना–मुगु
लिमी र हिल्सा–हुम्ला
सुनिता कार्की÷काठमाडौं, हिमनाथ देवकोटा÷काठमाडौं, सुन्दरकुमार थकाली÷जोमसोम, अनिष विष्ट÷संखुवासभा, बसन्त लिम्बू÷ताप्लेजुङ, बिस्नप्रसाद न्यौपाने÷कालिकोट
(यो समाचार आजको अन्नपूर्णपोष्टमा छ ।)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68