२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

किसानहरुले तोके सयपत्री मालाको मूल्य

प्रकाशित मिति : २०७९ कार्तिक २ गते
- ADVERTISEMENT -

चितवन / भाइटिकामा दिदीबहिनीले दाजुभाईलाई सप्तरंगी टिका र सयपत्री वा मखमली फूलको माला लगाइदिने चलन रहेको छ । भाइटिकाको लागि सयपत्री फूलको जोहो गर्ने क्रम सुरु भएको छ । कतिपय किसानले तयार भइसकेका फूल टिपेर कोल्डस्टोरमा राख्न सुरु गरेका छन् ।
विगत वर्षहरुमा सयपत्री फूलको मालाको मूल्यमा एकरुपता थिएन । यस वर्ष भने किसान आफैले मूल्यमा एकरुपता कायम गर्न कस्सिएका छन् । व्यवसायिक पुष्प किसानहरुले आज (मंगलबार) संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सयपत्री फूलको मालाको मूल्यमा एकरुपता कायम गरिएको जानकारी गराएका हुन् । यस वर्ष चितवनमा प्रति माला खुद्रा मूल्य ९० देखि सय रुपैयाँसम्म निर्धारण गरिएको छ ।
फूलको गुच्छाको आधारमा मूल्य निर्धारण गरिएको हो । एउटा मालालाई सय रुपैयाँ भन्दा बढी लिन नपाइने फ्लोरिकल्चर एशोसियसन चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठले बताए । यस वर्ष चितवनमा पाँच लाख माला खपत हुने उनको अनुमान छ । जिल्लामा मागको ८० प्रतिशत फूल उत्पादन हुने उनी बताउँछन् ।
चितवनमा यस वर्ष ४० विघा भन्दा बढि जग्गामा सयपत्री फूल खेती गरिएको पुष्प किसान गोविन्द बास्तोलाले बताए । तिहारमा सयपत्री फूल प्रति किलो ४०० रुपैयाँसम्म विक्री हुने उनले बताए । एक किलो फूलले चार वटासम्म माला बनाउन सकिन्छ ।
भारतीय माला सुतरीको धागोमा उनेर बनाइएको हुन्छ । त्यस्तो मालामा केमिकल प्रयोग हुने भएकाले कोल्ड स्टोरबाट निकालेको करिब दुई घण्टामै ओइलिने रत्ननगर नगरपालिकाका कृषि शाखा प्रमुख प्रविन लामा बताउँछन् ।

- ADVERTISEMENT -