२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

सडक निर्माणको कामले पायो तीव्रता, बाटोमा हिँड्नेहरूलाई समेत सास्ती

प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते

–नारायण अधिकारी
चितवन । यतिबेला भरतपुर छिर्ने जो–कोहीलाई अनौठो लाग्न सक्छ, यहाँ अहिले जताततै निर्माणका काम भइरहेका छन् । बाहिरबाट आएका मानिसमात्रै होइन, महानगरवासीलाई पनि बाटो कता खुला छ र कता बन्द छ भन्ने थाहा पाउन मुस्किल छ । धेरै सडक बनिरहेका छन् भने ठूला पूर्वाधार आयोजनाका काम धमाधम भइरहेका छन् ।
सडकमा हिँड्नेहरूलाई समेत कठिन हुने गरी कामले तीव्रता पाएको छ । भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार र सङ्घीय सरकारका विभिन्न मन्त्रालयका बजेटमा यहाँ अर्बौँका काम भइरहेका छन् ।
महानगर प्रमुख रेनु दाहालको पहिलो कार्यकालमा सम्झौता भएका धेरै कामले अहिले तीव्रता पाएका छन् भने दोस्रो कार्यकालमा भएका सम्झौता अनुसारका काम पनि सुरु भएका छन् ।
सघन सहरी तथा भवन निर्माण आयोजना, नारायणी नदी व्यवस्थापन आयोजना, डिभिजन सडक कार्यालय, डिभिजन खानेपानी कार्यालय, हुलाकी सडक आयोजना, पर्यटन मन्त्रालयका ठूला विकास निर्माण भइरहेका छन् भने प्रदेश र महानगरका विकास योजना पनि अघि बढेका छन् ।
सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले पश्चिम चितवनमा पहिलो चरणअन्तर्गत रू ८८ करोड ठेक्कामध्येको महानगरका विभिन्न स्थानमा २६ किलोमिटर सडक निर्माण सम्पन्न भएको र १० किलोमिटर बन्ने क्रममा रहेको जानकारी दिनुभयो । “दोस्रो चरणको २६ किलोमिटर सडकमध्ये २० किलोमिटर सम्पन्न भइसकेको छ भने छ किलोमिटर निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो ।
सोही आयोजनाअन्तर्गत रू २५ करोड लागतमा निर्माण सुरु गरिएको रानीपोखरी र लक्ष्मीणनारायण मन्दिरको ८० प्रतिशत काम सकिएको छ । साथै पाँच किलोमिटर सडक निर्माण भइसकेको छ भने केन्द्रीय बसपार्क मर्मत अन्तिम चरणमा पुगेको छ ।
यस्तै देवघाटमा रू १० करोड लागतमा निर्माण सुरु गरिएको शवदाहाको काम २५ प्रतिशत सम्पन्न भएको छ । महानगरमा बनाउन सुरु गरिएको अत्याधुनिक सिटीहलको आधा काम सकिएको छ । यसका लागि रू ८८ करोड विनियोजन गरिएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजनाले रू ४१ करोड लागतमा १८ किलोमिटर सडक, देवघाटमा बसपार्क र आरतीस्थल निर्माण थालिएको छ । सोही आयोजनाअन्तर्गत वडा नं ७ मा साइकल लेन तथा फुटपाथको काम ८० प्रतिशत सम्पन्न भएको छ । सोही क्षेत्रमा रू छ करोड लागतमा सडक निर्माण थालिएको छ । वडा नं १४ मा रू दुई करोडमा कालिका पार्क निर्माण भइरहेको छ ।
नारायणी नदी व्यवस्थापन आयोजनाअन्तर्गत नदी तटबन्धनको काम पनि सुरु भएको छ । नारायणगढ बजार नजिकै पुलको उत्तरतर्फ ‘रिभर बिच’ बनाइँदै छ भने दक्षिणतर्फ तटबन्ध गरिँदै छ । आयोजना प्रमुख गणेश मरासिनीका अनुसार रू दुई अर्ब ४३ करोड विनियोजन गरिएको छ । नदीलाई पाँच भागमा विभाजन गरेर काम भइरहेको छ ।
“नारायणी बिच रू १५ करोड ९२ लाखमा ठेक्का दिएर काम थालिएको छ भने अर्को ठूलो खण्ड काभ्रेघाटबाट रामघाटसम्म रू एक अर्ब १५ करोडमा तटबन्धको काम थालिएको छ । अन्य तीन खण्डको काम सुरु गर्ने तयारी भइरहेको छ”, प्रमुख मरासिनीले जानकारी दिनुभयो ।
डिभिजन सडक कार्यालयअन्तर्गत नारायणढको पुल्चोकबाट गोन्द्राङसम्म छ लेन सडक निर्माणको ६० प्रतिशत काम पूरा भएको छ । रू एक अर्ब २३ करोड लागतमा सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो । यस्तै आँपटारीबाट केन्द्रीय बस टर्मिनलसम्म वाइपास सडकखण्ड निर्माण, ठूला सडकमा स्मार्ट बत्ती जडान तथा भूमिगत विद्युतीकरणको काम भइरहेको प्रमुख पौडेलले बताउनुभयो ।
त्यस्तै हाकिमचोकदेखि जगतपुरसम्म दुई खण्डमा १३ किलोमिटर हुलाकी सडक विस्तार भइरहेको छ । सङ्घीय सरकारको खानेपानी मन्त्रालयअन्तर्गतका रू पाँच अर्ब हाराहारीका आयोजना केही सम्पन्न भएका छन् भने केही निर्माणका चरणमा छन् । महानगर, एसियाली विकास बैंकको सहलगानीमा खानेपानीको काम हुनाका साथै शारदानगर, दिव्यनगर, जखडीमाईलगायत आयोजनाका काम भइरहेका छन् ।
महानगरस्तरीय आयोजनाअन्तर्गत यस आर्थिक वर्षमा मात्रै एक सय किलोमिटर सडक कालोपत्र भएको महानगरका इञ्जिनियर साकार लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सडकमा ग्राभेल, मर्मत तथा कालोपत्र गर्ने काम भइरहेका छन् । महानगरीय चक्रपथको ७८ किलोमिटरमध्ये डिभिजन सडक कार्यालयले १६ किलोमिटर, सघन सहरी तथा भवन निर्माण आयोजनाले ११ किलोमिटर, प्रदेश पूर्वाधारले १० किलोमिटर र महानगरले सात किलोमिटर निर्माण गरिसकेका छन् । बाँकी काम डिभिजन सडक कार्यालयले गर्ने गरी प्रक्रिया अघि बढेको छ ।
महानगरको प्रशासनिक भवन निर्माण थालिएको छ । रू ५३ करोडमा भवन निर्माणको काम सुरु गरिएको हो । नगरप्रमुख रेनु दाहालले महानगर, बागमती प्रदेश र सङ्घीय सरकारका योजनाहरूको काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो कार्यकालमा सम्झौता भएका आयोजनाले गति लिएको छ । नयाँ काम पनि सुरु भएका छन् ।”
पालिका निर्माणको महाअभियानमा रहेकाले तत्कालका लागि नगरवासीले केही कठिनाइ भोग्नु परे पनि काम सम्पन्न भएपछि नमूना सहर बन्ने नगरप्रमुख दाहालले बताउनुभयो । उहाँले महानगरलाई दक्षिण एसियाकै नमूना सहर बनाउने योजनाअनुरुप विकास, निर्माणका काम तीव्रगतिमा भइरहेको बताउनुभयो । प्रमुख दाहालले भन्नुभयो, “भरतपुर महानगर आगामी पाँच वर्षभित्र एसियाली मापदण्डअनुसारको भौतिक पूर्वाधारले भरिपूर्ण नमूना सहर बन्छ भन्ने मेरो दृढ विश्वास छ ।”
भरतपुर विमानस्थल विस्तार र क्रिकेट रङ्गशालाको रोकिएको काम तत्काल थाल्नका लागि आफूले केन्द्रीयस्तरमा सार्थक पहल गरिरहेको उहाँको भनाइ छ । नारायणी नदीमा सिग्नेचर पुलको ठेक्का भइसकेको उहाँले जानकारी दिनुभयो । रू दुई अर्बको लागतमा बन्ने पुलको प्राविधिक मूल्याङ्कन सम्पन्न भएर वित्तीय मूल्याङ्कन भइरहेको छ ।
महानगरका उपप्रमुख चित्रसेन अधिकारीले देशका स्थानीय तहमध्ये सबैभन्दा धेरै विकासका काम भरतपुरमा भइरहेको बताउनुभयो । “तत्कालका लागि महानगरवासीलाई समस्या देखिए पनि एक वर्षपछि सबैले विकासको अनुभूति गर्न सक्ने गरी काम भइरहेको छ”, उहाँले भन्नुभयो । महानगरलाई नमूना सहर बनाउने उद्देश्यले विकासका कामले तीव्रता पाएको उहाँको भनाइ थियो । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68