मकवानपुर / जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले जनजाति पत्रकारहरुको पत्रकारितामा निरन्तरता जरुरी भएको बताए । प्रमुख घलानले हेटौंडामा सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरको जिल्ला भेलालाई शनिबार सम्बोधन गर्दै जनजाति पत्रकारहरुको पत्रकारितामा निरन्तरता जरुरी भएको बताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उनले आदिवासी जनजाति पत्रकारहरु पत्रकारितामा लागे पनि अन्ततः विभिन्न समस्याका कारण यस क्षेत्रबाट पलायन हुने गरेको उनको भनाइ थियो । उनले चुनौतीहरुको न्युनीकरण गर्दै पत्रकारितामा जनजाति पत्रकारहरुको निरन्तरतामा जोड दिए ।
यस्तै उनले आदिवासी जनजाति पत्रकारहरुले पत्रकारिताका समग्र विषयलाई मध्यनजर गर्दै समुदायगत विशिष्ट विषय वस्तुलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोक सुजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप विष्ट र आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति उपाध्यक्ष सम्झना कार्की, महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य, प्रेस चौतारी नेपाल, मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, फोनिज केन्द्रबाट सुरेश क्षेष्ठ, फोनिज केन्द्रीय पार्षद सुवर्णलाल श्रेष्ठ, समाजवादी प्रेस संगठन मकवानपुरका उपाध्यक्ष जी न्यौपाने, थारु कल्याणकारी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरी लगायतको उपस्थिति थियो ।
















































