![]()
चितवन / भरतपुर–२, क्षेत्रपुरस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा वित्तीय साक्षरता एवम् जीवन व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
शेयर सदस्यहरुलाई संस्थागत जानकारी, वित्तीय साक्षरता एवम् जीवन व्यवस्थापनबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष धितालले शेयर सदस्यहरुलाई विशेषगरी सहकारीको विषयमा जानकारी हुन आवश्यक रहेको बताए । हरेक सदस्यहरुलाई संस्थागत सम्बन्धको ज्ञान जरूरी भएको उनको भनाइ थियो ।
‘जीवनको महत्व नबुझ्नु र सही ढङ्गले व्यवस्थापन गर्न नसक्दा जीवन तनावपूर्ण बन्दै गएको छ’, उनले भने, ‘जसले गर्दा समाज अशान्त हुँदै गएको छ ।’

कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले अहिलेको परिस्थितिमा जीवन व्यवस्थापन अत्यन्तै टड्कारो भएको बताए । कार्यक्रमका प्रशिक्षकसमेत रहेका अधिकारीले दैनिक व्यवहार तथा खानपानमा सन्तुलन नहुँदा दुःख पाउने गरेको जिकिर गरे । सही कर्म र सही समयको सदुपयोगले नै जीवन व्यवस्थापनमा सहजता हुने उनको भनाइ थियो ।
समय प्रतिकूल भए पनि तनावरहित जीवन जिउनका लागि आफूअनुकूल व्यवहार गर्न सकेमा जीवन व्यवस्थापन हुने उनले बताए ।
- ADVERTISEMENT -


उक्त कार्यक्रममा संस्थाका व्यवस्थापक विकास पौडेल, राहत उपसमितिका संयोजक रामप्रसाद घिमिरे लगायत ८५ जनाको सहभागिता रहेको थियो भने शेयर सदस्य पुण्यप्रसाद गौतमले पुराना नेपाली तथा हिन्दी गीत गायन मार्फत मनोरंजन दिएका थिए ।
कार्यक्रममा प्रशिक्षक तथा सहजकर्ता रामजी अधिकारीलाई संस्थाका अध्यक्ष थिरप्रसाद धितालद्वारा मायाको चिनो प्रदान गरिएको थियो । संस्थाका संस्थापक कोषाध्यक्ष स्व. मदनप्रसाद सापकोटालगायत दिवंगतहरुको सम्झनामा एक मौनधारण गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मुकुन्दप्रसाद गौतमले गरेका थिए ।

















































