चितवन / भरतपुर महानगरपालिका वडा नं. १ को कार्यालयले नदीजन्य पदार्थ दोहन भएपछि निगरानी बढाएको छ । ठिमुरास्थित त्रिशूली नदीमा नदीजन्य पदार्थ दोहन भएको जनगुनासो बढेपछि कार्यालयले निगरानी बढाएको हो ।
कार्यालयका वडाअध्यक्ष केशव महर्जनका अनुसार अनुगमनको क्रममा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेको भेटिएपछि गत वैशाख २१ गतेदेखि २७ गते दिउँसो १ बजेसम्मका लागि उत्खनन नै रोकिएको हो । नदीमा मेसिन लगाउने, साँझको समयमा पनि उत्खनन गर्नेलगायतका अवैध काम गरेको पाइएपछि वडा कार्यालयले उत्खनन नै रोकेको थियो ।
सम्झौता अनुसार जेठ मसान्तसम्ममा ४८ हजार घनमिटर नदीजन्य पदार्थ निकाल्ने गरी बुटवलको स्वीकार कन्स्ट्रक्सन एण्ड डिप ट्युवेल प्रालिले ठेक्का पारेको हो । सम्झौताविपरीत नदीजन्य पदार्थ निकालेको पाइएपछि वडा कार्यालयले सहमतिविपरीत काम गर्न नपाउने भन्दै रोकेको वडा अध्यक्ष महर्जनले बताए ।

उनले मापदण्डविपरीत काम भएको पुष्टि भएपछि तत्काल निकाल्न रोकेको बताए । सरकारी मापदण्डअनुसारको काम गर्न भने हामीबाट कुनै बाधा नहुने उनले भने । मापदण्डकै आधारमा निकाल्ने सहमति भएपछि बुधबार (बुधबार २७ गते) बाट पुनः उत्खनन सुरू भएको हो ।
सोही पुनः अनुगमन गर्दा १२ वटा गाडीले भ्याट बिलबिना नै सामान ढुवानी गरेको पाइएपछि केही घन्टा ती सवारी बाटोमै रोकेको उनले जानकारी दिए । ‘यसअघि पनि मापदण्डविपरीत काम गरेको भनेर रोक्यौँ, आज फेरि अनुगमनमा आउँदा भ्याट बिलबिना नै ओसारिरहेको पाइएपछि रोक्यौँ’, वडा अध्यक्ष महर्जनले भने, ‘साँझ बिल तयार पारेर ल्याएपछि बल्ल छाडियो ।’ सरकारी नियमानुसार बिहान ७ देखि बेलुकी ५ बजेसम्ममात्रै नदीजन्य पदार्थ निकाल्न पाइन्छ ।
- ADVERTISEMENT -


तर, साँझ ५ बजेपछि पनि खोलाबाट नदीजन्य पदार्थ निकालेको पाइएपछि वैशाख २१ गतेदेखि निकाल्न वडा कार्यालयले बन्द गरेको थियो । ‘हामीले अनुगमन गर्दा साँझ ६ बजे पनि ओसारिरहेको पाइएपछि रोकेका थियौँ’, उनले भने, ‘अहिले तोकिएको समयभित्र मात्रै निकाल्ने र खोलामा मेसिन नहाल्ने सहमति भएपछि बल्ल खोलिएको हो ।’
बुधबार अनुगमनका क्रममा भेटिएका गाडी भने धेरैजसो ठिमुरामै खोलिएको क्रसर उद्योगबाट प्रशोधन गरिएका गिट्टी बोकेका गाडी थिए । सगुन कन्स्ट्रक्सनले भरतपुरको सिटी हल निर्माणका लागि भनेर ठिमुरामा क्रसर उद्योग सञ्चालन गरेको छ । सोही क्रसरले निकालेको सामान बिनाबिलको भेटिएपछि केही समय रोकिएको वडा सदस्य मनोज घिमिरेले जानकारी दिए । ‘जनप्रतिनिधिका रुपमा काम गर्दैगर्दा जनताको गुनासो नआउने गरी काम गर्नेछौँ’, वडा सदस्य घिमिरेले भने, ‘नियमविपरीत देखिएमा कुनै पनि काम हामी तत्काल रोक्छौँ । र, आवश्यक कारबाही गर्छौं ।’
नदीबाट गिट्टी–बालुवा निकाल्न थालेपछि बुधबार पनि वडा सदस्यहरु राजु गुरूङ र मनोज घिमिरेसहित वडा अध्यक्षको टोलीले अनुगमन गरेको हो । हरेक दिनजसो गुनासो आउन थालेपछि अनुगमनलाई पनि निरन्तरता दिँदै आएको वडाले जनाएको छ । त्रिशूली नदीबाट नदीजन्य पदार्थ निकाल्न चार करोड १७ लाख रूपैयाँमा स्वीकार कन्स्ट्रक्सनले गत फागुन १९ गते सम्झौता गरेको थियो । वडा कार्यालयका अनुसार सम्झौता भएको भोलिपल्टदेखि नदीजन्य पदार्थ निकाल्न थालिएको हो ।


















































