April 26, 2025

एक हजार सवारी साधन कारबाहीमा, सात लाख बढी राजस्व संकलन

July 26, 2023
- ADVERTISEMENT -

देवघाट / आर्थिक वर्ष २०७९-८० मा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउनेहरुबाट सात लाख चार हजार पाँच सय रूपैयाँ राजस्व संकलन गरिएको छ । देवघाटमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टले सात लाख चार हजार पाँच सय रूपैयाँ राजस्व संकलन गरेको हो ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट देवघाटका प्रहरी सहायक हवल्दार बुद्धिराज महतोका अनुसार वर्षभरिमा ट्राफिक नियम उल्लङ्घन गरेका कुल एक हजारवटा सवारीसाधनलाई कारबाही गर्दा हालसम्मकै सबैभन्दा बढी राजस्व संकलन भएको हो ।
सबैभन्दा धेरै दुईपाङ्ग्रे सवारी साधन (मोटरसाइकल÷स्कुटर) कारबाहीमा परेको हवल्दार महतोले जानकारी दिए । कुल ७६३ वटा दुईपाङ्ग्रे सवारीसाधनको कारबाहीबाट मात्रै पाँच लाख ४३ हजार रूपैयाँ राजस्व संकलन भएको उनले बताए । त्यसपछि जिप तथा कार कारबाहीमा परेका छन् । उनका अनुसार ११० वटा जिप तथा कार कारबाहीमा पर्दा त्यसबाट मात्रै ६८ हजार रूपैयाँ राजस्व संकलन भएको छ । ६२ वटा ट्रक कारबाहीमा पर्दा ४५ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।
३८ वटा ट्रयाक्टर कारबाहीमा पर्दा त्यसबाट पनि ३१ हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको उनले बताए । तीनपाङ्ग्रे सवारी साधन (अटो)बाट पनि १६ हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको छ । एक वर्षभरिमा २६ वटा अटो कारबाहीमा परेका छन् । सबैभन्दा कम कारबाहीमा परेको यात्रु सवारीसाधन भने बस हो । एक वर्षमा जम्मा एउटामात्रै बस कारबाहीमा पर्दा त्यसबाट पाँच सय रूपैयाँमात्रै राजस्व संकलन भएको देवघाट प्रहरीसँग तथ्याङ्क छ ।
देवघाटमा एक वर्षभित्रै यति धेरै सवारीसाधनलाई कारबाही गरी राजस्व संकलन गरेको यो नै पहिलोपटक भएको उनले बताए । प्रहरी सहायक हवल्दार महतोका अनुसार यसअघिका वर्षहरुमा करिब साढे पाँच लाख रूपैयाँसम्म राजस्व संकलन भएको थियो । तर, यसपटक देवघाटमा सवारीसाधनको चाप बढ्नुका साथै ट्राफिक नियम उल्लङ्घन गर्नेको संख्या पनि बढ्दै जाँदा राजस्व संकलनमा पनि वृद्धि भएको उनको भनाइ छ ।
‘कारबाहीमा पर्ने अधिकांश सवारीसाधन बाहिरी जिल्लाबाट आउने गरेका छन्’, उनले भने, ‘देवघाटकै स्थानीय सवारीसाधनबाट त्यति धेरै ट्राफिक नियम उल्लङ्घन भएको पाइँदैन ।’ धेरैजसो मादक पदार्थ सेवन (मापसे) गर्ने र सवारी चालक अनुमतिपत्रबिना सवारी चलाउने भेटिएको उनको भनाइ छ । प्रहरीले सुरक्षा जाँचका लागि पनि सक्रियता बढाएका कारण धेरै सवारीसाधन कारबाहीमा पर्नुका साथै राजस्व संकलन पनि बढेको उनले बताए ।
‘शिक्षित तथा जानेबुझेकै व्यक्तिहरुबाट ट्राफिक नियम उल्लङ्घन भएको देखिएको छ’, उनले भने, ‘थाहा पाएर पनि थाहा नपाएजस्तो गर्नु भनेको जानाजान लापर्बाही गर्नु हो । त्यसैले हामीले देवघाटको ट्राफिक व्यवस्थापनमा निकै कडाइ गरेका छौँ ।’ देवघाटमा सवारीसाधन चोरीका घटना पनि बढ्दै गएको हुँदा सुरक्षा व्यवस्थाका लागि पनि चेकजाँचलाई कडाइ गरिएको उनको भनाइ छ ।

- ADVERTISEMENT -