दाङ / घरमा सुतेको अवस्थामा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेहरुमा सल्यानको त्रिवेणी गाउँपालिका–२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार, शुक्रबार राति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण आमाछोरीको मृत्यु भएको हो ।
उनीहरुको शव जलेको अवस्थामा शनिबार बिहान फेला परेको हो । प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
यसैबीच मोरङको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा स्थानीय १२ वर्षीया समीक्षा माझी र १० वर्षीया रेजिना खवास रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिकाहरु डुबेर घाइते भएको अवस्थामा शनिबार बिहान स्थानीयले फेला पारेका थिए ।
कोसी अस्पतालमा ल्याइएका उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका थिए ।