चितवन / २५ लाख रुपैयाँ रकम नदिए बाबुछोराको हत्या गर्ने धम्की दिने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले मंगलबार पत्रकार सम्मेलन मार्फत बाबुछोराको हत्या गर्ने धम्की दिने मकवानपुका ५५ वर्षका रामचन्द्र थापालाई सार्वजनिक गरेको हो ।
भरतपुर महानगरपालिका वडा नं. १ बस्ने सोमराज सुवेदीलाई फोन गरेर २५ लाख रुपैँया नदिए उनीसहित छोराको हत्या गर्छु भन्ने धम्की दिएको चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
प्रवक्ता पण्डितका अनुसार अभियुक्त थापाले कार्तिक ८ गते साँझ पहिलो कल गरी मोटो रकम माग गरेको हो । प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले उनलाई कार्तिक १३ गते भरतपुरको मालपोत चोकबाट पक्राउ गरेको हो ।
मकवानपुर हेटौडा उपमहानगरपालिका स्थायी ठेगाना भएका थापा भरतपुर महानगरपालिका वडा नं. ९ मा बस्दै आएको हो । चितवन प्रहरीका अनुसार अभियुक्त थापाविरुद्ध यसअघि चोरीसम्बन्धी कसुर, डाँका कसुर, लागुऔषधसम्बन्धी कसुरमा विभिन्न समयमा मुद्दा दर्ता भएको थियो ।
पक्राउ परेका थापा चितवन जिल्ला आदालतबाट डाँका मुद्धामा ९ वर्ष कैद सजाय तोकिएकोमा जेष्ठ १५ गते गणतन्त्र दिवशको अवसरमा साढे ४ वर्ष कैद भूत्तान गरी आम माफी पाएर छुटेको प्रहरीले जनाएको छ ।