चितवन / बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले आदिवासी जनजाति महासंघको अभिभावकत्व लिन आफू तयार रहेको बताएका छन् । जनजाति समुदायले भोग्दै आएका समस्या र असहजतालाई सहज बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नीतिगत माग र स्पष्ट प्रस्तावसहित आउन आग्रह गरे ।
चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा सुरु भएको नारायणी महोत्सव २०८३ को उद्घाटन गर्दै मन्त्री तामाङले जनजाति समुदायका माग र समस्यालाई सम्बोधन गर्न आफूले पहल गर्ने बताए । नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने विषय प्रस्तावका रूपमा ल्याउन आग्रह गर्दै उनले त्यसलाई आवश्यकताअनुसार अघि बढाउने प्रतिबद्धता जनाए ।
मन्त्री तामाङले बाढीका कारण क्षतविक्षत बनेको नारायणी नदी किनारलाई आयोजकले आफ्नै लगानीमा सम्याएर महोत्सव आयोजना गरेको भन्दै प्रशंसा गरे । स्थानीय संस्कृति संरक्षण र प्रवर्द्धनमा महोत्सवले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै उनले सफलताको शुभकामना दिए ।
बाढीका कारण नारायणी नदी किनारमा बालुवा, गेगर र ढुङ्गा थुप्रिनुका साथै विभिन्न स्थानमा खाल्डाखुल्डी बनेका थिए । महोत्सव आयोजना गर्नुअघि आयोजकले आफ्नै स्रोत, साधन र लगानीमा नदी किनार सम्याएर परिसरलाई व्यवस्थित र सुरक्षित बनाएको हो ।
- ADVERTISEMENT -


रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना तथा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको सहआयोजनामा सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रालिका अध्यक्ष विक्कल क्षेत्रीले यस वर्षको महोत्सवलाई नवीन, आकर्षक र मनोरञ्जनात्मक बनाउन विभिन्न विशेष संरचना तथा गतिविधि समावेश गरिएको बताए । महोत्सवको प्रवेशद्वारमा पिरामिड शैलीको आकर्षक गेट निर्माण गरिएको छ भने नारायणी नदी र आसपासको प्राकृतिक सुन्दरता आकाशबाट अवलोकन गर्न हट एयर बेलुनको व्यवस्था गरिएको छ ।
त्यस्तै, जिरो ग्र्याभिटी राइडसहित बालबालिका, युवा तथा परिवारका सबै सदस्यलाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक खेल र गतिविधि सञ्चालन गरिएका छन् ।
महोत्सवमा व्यापारिक स्टल, प्रदर्शनी कक्ष, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विभिन्न परिकारको व्यवस्था गरिएको छ । यसले स्थानीय व्यवसायी तथा उद्यमीलाई आफ्ना उत्पादन र सेवाको प्रचारप्रसार तथा बिक्री वितरणमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।
नारायणी नदी किनारलाई पर्यटनसँग जोड्दै भरतपुर तथा समग्र चितवनको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, कलाकार तथा सांस्कृतिक प्रतिभालाई अवसर प्रदान गर्नुका साथै स्थानीय संस्कृतिको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा ट्राफिक प्रहरीसँग समन्वय गरिएको आयोजकले जनाएको छ । सवारी व्यवस्थापन, पार्किङ, सरसफाइ, प्राथमिक उपचार तथा आपत्कालीन व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिएको छ ।
महोत्सव प्रवेशका लागि साधारण टिकट १०० रुपैयाँ र विद्यार्थीका लागि ८० रुपैयाँ निर्धारण गरिएको छ । केही दिन साँझ ५ देखि ९ बजेसम्म विशेष कन्सर्टसमेत आयोजना हुनेछ । कन्सर्ट जोनमा प्रवेशका लागि साधारण टिकट ३०० र भिआइपी टिकट ५०० रुपैयाँ तोकिएको छ । कन्सर्टमा सहभागी नहुने दर्शकले भने नियमित टिकटमै महोत्सव अवलोकन गर्न पाउनेछन् ।
महोत्सवमा सहभागी भई सफल बनाउन संयोजक क्षेत्रीले सबैलाई आग्रह गरेको छ ।

















































