नयाँदिल्ली / भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।
नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षको समीक्षा गर्दै आपसी हित र चासोका विषयमा छलफल भएको हो ।
वार्तामा विशेषगरी आर्थिक सहकार्य, व्यापार, पारवहन, ऊर्जा, जलस्रोत, पूर्वाधार विकास, सीमापार सम्पर्क सञ्जाल तथा विकास साझेदारीलाई प्राथमिकता दिइएको थियो । दुवै प्रधानमन्त्रीले ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउँदै आर्थिक विकास र समृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान गरेका थिए ।
छलफलमा दुवै देशका मन्त्री, उच्च सरकारी अधिकारी तथा कूटनीतिक प्रतिनिधिको सहभागिता थियो । नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत सहभागी थिए भने भारतीय पक्षबाट विदेशमन्त्री एस। जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत उपस्थित थिए ।
- ADVERTISEMENT -

दुई प्रधानमन्त्रीबीचको वार्तापछि प्रतिनिधिमण्डलस्तरीय छलफल तथा विभिन्न द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा ऊर्जा, पूर्वाधार, रेलमार्ग र सीमापार सम्पर्क विस्तारसँग सम्बन्धित आयोजनाको उद्घाटन तथा नयाँ आयोजनाको शिलान्याससमेत गर्ने तयारी छ ।
प्रधानमन्त्री शाहले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।















































