२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

देछेन गुम्बा देवघाटको आयोजनामा विभिन्न संघसंस्थाको सरसफाइ

प्रकाशित मिति : २०८० मंसिर २१ गते
- ADVERTISEMENT -

–बबिलाल तामाङ
देवघाट । देछेन थार्वालिङ बौद्ध गुम्बा देवघाटको आयोजनामा विभिन्न संघ संस्थाहरुद्वारा सरसफाइ कार्यक्रम गरिएको छ । देवघाटको चन्द्र स्वर्गद्वारी–चोकहुँदै बौद्ध धार्मिक तथा साँस्कृतिक क्षेत्र गेटदेखि बौद्ध धार्मिक शवदाह स्थलसम्म बुधबार सरसफाइ कार्यक्रम गरिएको देछेन गुम्बाका अध्यक्ष सुकमाया मोक्तानले जानकारी दिए ।

अध्यक्ष मोक्तानका अनुसार धार्मिक पर्यटकीय स्थल देवघाटमा ‘पवित्र स्थल देवघाटमा गरौं पुण्य काम, हरिलो भरिलो सफा सुन्दर राखौँ हाम्रो अभियान’ भन्ने नारासहित सरसफाइ कार्यक्रम गरिएको हो । पवित्र स्थल देवघाट क्षेत्र वरपर विभिन्न कारणबाट फोहोरजन्य वस्तुहरु र झाडी बढ्दै गएपछि सरसफाइ अभियान नै थालिएको अध्यक्ष मोक्तानले बताए ।

भरतपुर महानगरपालिका वडा नं. १ का वडाध्यक्ष केशव महर्जनले चन्द्र स्वर्गद्वारीचोकबाट कुचो लगाई सरसफाइ सुरु गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष महर्जनले सरसफाइ अभियान सफल पार्न सबै संघसंस्था र नागरिकहरुले एक्यबद्धता जनाउनु पर्ने बताए ।

वडाध्यक्ष महर्जनले सबैको साथ र सहयोग प्राप्त भएमा मात्र देवघाट क्षेत्रलाई सफा र हराभरा बनाउन सकिने जिकिर गरे । सरसफाइमा अभ्यास बढाउन सकिए मात्र देवघाटलाई कुरुप हुनबाट जोगाउन सकिने उनको भनाइ थियो ।

उनले देवघाट धार्मिक पर्यटकीय स्थल समेत भएकोले आफ्नो गाउँ ठाउँ आफैँले सफा गर्नुपर्ने बताउँदै सरसफाइमा ध्यान दिन आग्रह गरे । भरतपुर भ्रमण वर्ष २०२४ नजिकिँदै गरेकोले आआफ्नो ठाउँबाट सहयोग गर्नु हरेक नागरिकको दायित्व भएको उनले बताए ।

देवघाट क्षेत्र विकासको लागि सबै जिम्मेवार भई हातेमालो गर्दै अघि बढ्नु पर्ने उनको धारणा थियो । उनले हरेक १५ दिन वा महिनामा एक पटक सरसफाइ अभियान नै थालनी गर्न आग्रह गर्दै वडाको सहजीकरण हुने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल, भरतपुर नगर तामाङ समाज चितवनका सचिव सिताराम मोक्तान, नेपाल राष्ट्रिय भूपू सैनिक संघ इकाई ४ वडा नं. १० का अध्यक्ष तोयानाथ पौडेल, गामवेसी साँस्कृतिक कला केन्द्रका अध्यक्ष कमल कुँवरलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम बौद्ध धार्मिक तथा साँस्कृतिक निर्माण समितिका संयोजक शम्भुलाल पाख्रिनको संयोजकत्वमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -