चितवन / भरतपुर महानगरपालिकाले विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका बोर्डहरु हटाउन सुरु गरेको छ । महानगरले शनिबारदेखि नारायणगढ बजारबाट बोर्डहरु हटाउन सुरु गरेको हो ।
महानगर प्रहरी र प्रनिस कन्सट्रक्सनका प्रतिनिधिहरुले बोर्ड हटाएका हुन् । सार्वजनिक स्थान र पसलहरुमा राखिएको विज्ञापन बोर्डको कर महानगरले कर उठाउने जिम्मा प्रनिस कन्सट्रक्सनलाई दिएको छ ।
कन्सट्रक्सनले पटक पटक ताकेता गर्दा पनि कर तिर्न अटेर गरेपछि बोर्ड हटाइएको प्रनिस कन्सट्रक्सनका बजार प्रतिनिधि दिपक घिमिरेले जानकारी दिए ।
उनका अनुसार कन्सट्रक्सनका प्रतिनिधिसहित महानगर प्रहरीले बाल्ट्रा, सुपर जनरल, होम ग्यालरी, डायमण्ड लगायतका कम्पनीको विज्ञापनजन्य बोर्डहरु हटाएको हो ।
कम्पनीहरुले महानगरलाई कर नतिरेसम्म विज्ञापन बोर्ड राख्न नदिने उनले बताए । पहिलो चरणमा अन्तर्राष्ट्रिय कम्पनीका बोर्ड हटाउने र दोश्रो चरणमा राष्ट्रिय कम्पनी, वित्तीय संस्था, शैक्षिक संस्था लगायतका संघसस्थाको विज्ञापनजन्य बोर्ड हटाउने कन्सट्रक्सनले जनाएको छ ।
अन्तर्राष्ट्रिय कम्पनीका ब्राण्डहरुले भरतपुरका विभिन्न पसल र सडकहरुमा विज्ञापनजन्य बोर्ड राखेर आफ्नो विज्ञापन गरिरहेका छन् ।