चितवन / भरतपुर महानगरपालिका–८, स्थित वरण्डाभार मध्यवर्ती उपभोक्ता क्षेत्रबाट सालकको अखेटोपहार बिक्री गर्न लैजाँदै गर्दा ६ जना पक्राउ परेका छन् ।
मोटरसाइकलमा आएका दुई जनालाई सालकको अखेटोपहारसहित चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ तैनाथ नयाँ गोरखगणको संयुक्त अप्रेशनको क्रममा पक्राउ परेका हुन् ।
- ADVERTISEMENT -

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार गत असार ५ गते पक्राउ परेका दुई जनाबाट अनुसन्धानको क्रममा थप ४ जनालाई पक्राउ गर्न सफल भएको हो ।
उनका अनुसार पक्राउ परेका ६ जनाविरुद्ध नै आज (शुक्रबार) चितवन जिल्ला अदालतमा मुद्दा दायर गर्न लागिएको छ ।
- ADVERTISEMENT -

गत असार ५ गते दिउँसो ३ः३० बजेको समयमा बा ३८ प ९३३२ नम्बरको मोटरसाइकलमा आएका नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ बस्ने वर्ष २४ का निरन भड्ताल र विदुर नगरपालिका–१३ बस्ने वर्ष २७ का रामचन्द्र सुनारलाई पक्राउ गरिएको थियो ।
उनीहरुको साथबाट गस्ती टोलीले ९६० ग्रामको सालक अखेटोपहार बरामद गरेको थियो । पक्राउ परेका दुई जनाको बयानबाट निकुञ्जले थप चार जना विदुर नगरपालिका–६ बस्ने वर्ष २२ का विक्रम गहतराज, विदुर–१२ बस्ने वर्ष २९ को रामबहादुर मिजार, सूर्यगढी गाफलाटे नगरपालिका–३ बस्ने वर्ष ३१ का राम सुनार र नुवाकोटकै लिखु गाउँपालिका–५ बस्ने वर्ष २९ को रामकृष्ण मिजारलाई पक्राउ गरेको हो ।











































