March 15, 2025
- ADVERTISEMENT -

ममता हत्या प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव लुकाएको अभियोग

August 24, 2024
File photo.

भर्जिनिया (अमेरिका) / अमेरिकामा करिब एक महिनादेखि बेपत्ता नेपाली नर्स ममता काफ्लेका श्रीमान् नरेश भट्ट विरुद्ध त्यहाँको प्रहरीले शव लुकाएको अभियोग लगाएको छ। अदालतमा पेश गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको अमेरिकी समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

बिहीबार पक्राउ गरेर शुक्रबार प्रिन्स विलियम काउन्टी जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन कोर्टमा पेश गरिएका भट्टविरुद्ध शव लुकाइएको अभियोग लगाइएको हो । उनको अर्को सुनुवाइ अगष्ट २४ तारिखमा हुँदैछ ।

अदालतमा प्रहरीले पेश गरेको कागजातमा नरेशमाथि हत्याको अभियोग लगाइएको हो । ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी भट्टले श्रीमती ममताको हत्या गरेको र घटना उनकै निवासमा भएको अदालतमा पेश गरेको कागजातमा उल्लेख छ।

प्रहरीले घरभित्रै हत्या गरेको उनीसँग मिल्दोजुल्दो प्रमाण बरामद भएपछि यस्तो अभियोग लगाएको हो । प्रहरीले अदालतमा शव घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण पेश गरेको छ । ममता बेपत्ता हुनु अगाडि नरेशले तीनवटा चक्कु र सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले नरेशले खरिद गरेका तीन चक्कुमध्ये दुई वटा अझै फेला पारेको छैन । प्रहरीले बेडरुम र बाथरुममा रगतका टाटाजस्ता देखिने प्रमाण फेला परेकोसमेत अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।

- ADVERTISEMENT -