चितवन / नेवार समुदायको योमरी पुन्ही पर्व चितवन जिल्लामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । उनीहरुले दुई दिन (शनिबार र आइतबार) योमरी पुन्हीको अवसरमा विभिन्न स्थानमा योमरी पकाउने र खुवाउने कार्यक्रम गरी मनाएको हो ।
योमरी पुन्हीलाई उनीहरुले ठूलो चाडका रुपमा मनाउँदै आएका छन् । सरकारले आइतबार परेको योमरी पर्व, उँधौली पर्व र धान्यपूर्णिलाई सार्वजनिक बिदासमेत दिएको थियो ।
- ADVERTISEMENT -

नेवारी भाषामा ‘यः’ भन्नाले मन पर्ने र ‘मरि’ भन्नाले रोटी भन्ने बुझिन्छ । यःमरिलाई योमरी पनि भन्ने चलन छ । योमरी पुन्हीको दिन योमरी पकाएर देवतालाई चढाउनुका साथै सपरिवार मिलेर खाने र अरुलाई पनि खुवाउने प्रचलन छ ।
भरतपुर महानगरपालिका वडा नं–१ का वडा अध्यक्ष केशव महर्जनले नेवारी समुदायमा १२ वर्षको उमेरसम्म हरेक वर्ष उमेरअनुसार योमरीको माला लगाउने प्रचलन रहेको बताए ।
उनका अनुसार यो चाडमा चेलीबेटीहरुलाई बोलाएर योमरी खुवाउने चलन रहेको छ । चितवनमा व्यावसायिकरुपमा योमरी खाना पस्किन सक्ने व्यवसायको राम्रो सम्भावना रहेको उनको भनाइ छ । योमरी स्वास्थ्यका लागि लाभदायक पनि रहेको उनले बताए ।
‘यसमा मिसाइएको तिल, चाकु र नरिवल स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । यसलाई बिस्तारै व्यावसायीकरण पनि गर्नुपर्छ । मैदाबाट बन्ने मम, चाउमिनभन्दा ताइचिन चामलबाट बन्ने योमरी स्वास्थ्यवद्र्धक हुन्छ । यसको व्यावसायिकरुपमा पनि बिक्रीवितरण गर्नुपर्छ’, उनले भने । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु वा खुवा र तिलबाट विशेष आकार दिएर बनाउने गरिन्छ ।
भरतपुर–१२ स्थित नेवा समाज भरतपुरले पनि योमरी पुन्हीको अवसरमा आजै योमरी बनाउन सिक्ने, सिकाउने तथा खाने कार्यक्रमको आयोजना गरेको थियो । योमरी खानाको प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको नेवा समाज भरतपुर अध्यक्ष बद्रिमान श्रेष्ठले बताए ।
नेवा देय दबु केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्रलाल राजभण्डारीका अनुसार कार्यक्रममा स्थानीय नेवारी महिलाले नै योमरी बनाउन सिकाएका हुन् ।
यहाँ यस्तो कार्यक्रम भव्यरुपमा पहिलोपटक आयोजना गरिएको उनले बताए । योमरी तिल र खुदोको बनाउने गरिन्छ । यो खाना गर्भवती महिलाका लागि फाइदाजनक मानिन्छ । ‘योमरी पुन्ही र योमरी खानालाई लोप हुन नदिन यो कार्यक्रम गरिएको हो । यसबाट योमरी बनाउने कला नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौँ’, उनले भने ।










































