नेपालमा बढ्दो वायु प्रदूषणको जोखिमबारे विभिन्न संस्थाहरुले अध्ययन तथा अनुसन्धानबाट वायु प्रदूषणको खतरा औँल्याइए पनि सरकार तथा सरोकारवाला निकाय संवेदनशील हुन सकेको छैन । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले देशभरका केही सहरहरुमा गरेको हावामा भएको धूलो मापन गर्दा काठमाडौँ, लुम्बिनीपछि सौराहा बढी प्रदूषित रहेको देखाएको थियो । तर, विडम्बना ! नेपालमा वायु प्रदूषणले निम्त्याएका रोगबारे कुनै पनि जिम्मेवार निकायले विस्तृत अध्ययन तथा अनुसन्धान गरेको पाइएको छैन । नेपालमा प्रत्येक वर्ष वायु प्रदूषणका कारण मृत्यु हुनेको संख्या ४८ हजार ५०० रहेको छ । नेपालमा मृत्युको मुख्य कारण र त्यसमा वायु प्रदूषणको भूमिकामध्ये ६६ प्रतिशत दीर्घकालीन फोक्सोको रोग, ३४ प्रतिशत मुटुको रोग, ३७ प्रतिशत मस्तिष्कघात, ४७ प्रतिशत तल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण र २२ प्रतिशत नवजात शिशुको मृत्यु रहेको छ ।
नेपाल वायु प्रदूषणको उच्च जोखिममा रहेका मुलुकहरूको सूचीको अग्रस्थानमा छ । नेपालमा वायु प्रदूषणका कारण छातीको समस्या, मुटु, मृगौला, मधुमेहलगायतका रोग वृद्धि भइरहेको भन्दै चिकित्सकहरुले चिन्ता प्रकट गरेका छन् । वायु प्रदूषणको प्रमुख घटक कार्बन हो । यो बायोमास, डिजल, जैविक इन्धन डढ्ने कारणले उत्पन्न हुने गर्छ । वायु प्रदूषणमा निकै बेरसम्म बस्ने गर्दा मुटुरोगको खतरा बढ्नुका साथै हृदयाघातको जोखिमसमेत हुने चिकित्सकहरुले औँल्याएका छन् । वायु प्रदूषण प्रमुख वातावरणीय समस्यामात्रै नभएर एक गम्भीर सामाजिक समस्याका रुपमा देखिएको छ । यसले हाम्रा आर्थिक र सामाजिक विकास लक्ष्यलाई नै चुनौती दिइरहेको छ । वायु प्रदूषणले तत्काल सामान्य टाउको दुख्ने, आँखा, नाक, घाँटी र श्वासप्रश्वासमा असरदेखि दीर्घकालीनरूपमा मुटुरोग, मस्तिष्कघात, फोक्सोको क्यान्सर, दम र बालबालिकामा मस्तिष्क विकास तथा वयस्कको प्रजनन क्षमतासमेत ह्रास गराउँछ ।
- ADVERTISEMENT -

वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पारेको सरोकारवालाले बताएका छन् । प्रदूषणजन्य रोगबाट ६ देखि १२ वर्ष उमेरका बालबालिकामा ब्रोङकाइटिसको समस्या पनि तीव्र दरमा बढ्दो छ । केही वर्षअघि नास्टले काठमाडौँमा मापदण्डभन्दा ५ गुणा बढी प्रदूषण हुने गरेको तथ्यांक सार्वजनिक गरेको थियो । विश्व स्वास्थ्य संगठनले वार्षिक औसत पिएम २.५ को मापदण्ड १० माइक्रोग्राम र पिएम १० को मात्रा १२० माइक्रोग्राम तोकेकोमा अहिले भरतपुरको १५३ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुगेको छ । वायु प्रदूषण गर्ने प्रमुख पदार्थहरुमा सल्फर अक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड, वायुमण्डलीय धूलोका सूष्म कणलगायत पर्छन् । वायु प्रदूषणको बढ्दो जोखिम घटाउन सरकारले अविलम्ब प्रदूषण नियन्त्रणका लागि विद्युतीय सवारीसाधनमा जोड दिनुपर्छ । सर्वसाधारणको स्वास्थ्य प्रतिकूल नहुने गरी विकास निर्माणका गतिविधि सञ्चालन गर्नेतर्फ सरोकारवाला निकायले ध्यान दिनु जरूरी देखिएको छ ।







































