२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

भारत–पाक तनाव : युद्ध समाधान होइन, कूटनीतिक उपाय खोज्नू – अमेरिका

प्रकाशित मिति : २०८२ बैशाख २६ गते
- ADVERTISEMENT -

काठमाडौं / भारत र पाकिस्तानबीच चर्किँदो तनावका बीच अमेरिकाले दुबै पक्षलाई संयम अपनाउन र युद्धको बाटो नलिन आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले हिंसा र सैन्य कारबाहीबाट समस्या समाधान नहुने भन्दै वार्ता र कूटनीतिक प्रयासलाई प्राथमिकता दिन सुझाव दिएको छ ।

विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले एक पत्रकार सम्मेलनमा भनिन्, ‘हिंसा, सैन्य कारबाही र युद्ध रोकिनुपर्छ, अमेरिकाको सन्देश यही हो ।’ उनले यो पनि स्पष्ट पारिन् कि मध्यपूर्वका पछिल्ला घटनाले पनि प्रमाणित गरिसकेको छ कि युद्ध समाधान होइन ।

उनले जोड दिइन्, ‘पुस्तौंदेखि जारी हिंसा र समस्यालाई समाधान गर्न नयाँ विचार र कूटनीतिक पहल नै आवश्यक छन् । युद्ध, सेना र हिंसा दीर्घकालीन समाधान बन्न सक्दैनन् ।’

पत्रकारहरूले भारत–पाकिस्तानबीच अमेरिकाको सम्भावित मध्यस्थता बारे सोध्दा प्रवक्ताले त्यसबारे स्पष्ट पुष्टि त गरिनन् तर अस्वीकार पनि गरिनन् । ‘जब सम्बन्धित देशका नेताहरू कूटनीतिक या कुनै पनि तहमा वार्तामा हुन्छन्, हामी त्यसका विवरणहरू सार्वजनिक गर्दैनौं, यो हाम्रो नीति हो,’ ब्रुसले भनिन् ।

उनका अनुसार, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हालै भारतीय विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँग फोनमार्फत कुराकानी गरेका थिए । उक्त कुराकानीमा रुबियोले दुवै पक्षलाई तनाव कम गर्न, हिंसा रोक्न र प्रत्यक्ष वार्तामा जोड दिन आग्रह गरेका थिए ।

अमेरिकाले यथास्थितिमा संयमता अपनाउने, संवादमार्फत समस्याको समाधान खोज्ने र क्षेत्रीय स्थायित्वमा योगदान पुर्‍याउने स्पष्ट सन्देश दिएको छ । भारत र पाकिस्तानबीच लामो समयदेखि रहँदै आएको द्वन्द्व र चासोलाई ध्यानमा राख्दै अमेरिकी भनाइलाई गम्भीरतापूर्वक लिने बेला आएको संकेत विश्लेषकहरूले गरिरहेका छन् ।

- ADVERTISEMENT -