काठमाडौं / देशका विभिन्न भागमा भीषण वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार काभ्रे, गुल्मी, स्याङ्जा लगायतका केही जिल्लामा भारी वर्षा मापन गरिएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार गुल्मीमा ५६.४ मिलीमिटर र स्याङ्जामा ५३ मिलीमिटर वर्षा भएको छ । यस्तै, काभ्रेपलाञ्चोकमा मात्र ६ घण्टाको अवधिमा ३९.६ मिलीमिटर वर्षा भएको मापन गरिएको छ ।
- ADVERTISEMENT -

अचानक आएको भारी वर्षाले काभ्रे जिल्लामा जनधनको ठूलो क्षति पुर्याएको छ । पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीका अनुसार वर्षासँगै आएको बाढीले पनौती नगरपालिका–५ की २८ वर्षीया रेनुका गिरीलाई बगाएको छ। हालसम्म उनी वेपत्ता रहेकी छन् ।
बाढीले नगरपालिकाको वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९ र १० मा उल्लेखनीय क्षति पुर्याएको छ। विशेष गरी असोज १२ गतेको बाढीले क्षति पुर्याएका र अस्थायी रूपमा मर्मत गरिएका खानेपानीका पाइपलाइन र सडकहरू पुनः बगाएको पाइएको छ ।
- ADVERTISEMENT -

सोमबार दिनभर वर्षा भए पनि साँझपछिबाट भने पनौती क्षेत्रमा मौसम खुल्न थालेको प्रमुख भण्डारीले जानकारी दिए ।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले सोमबार बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही पहाडी भूभागमा पनि मध्यमदेखि भारी वर्षा भएको जनाएको छ ।
मौसमविद्हरूले आगामी दिनमा पनि देशका विभिन्न भागमा वर्षा जारी रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

















































