काठमाडौं / नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले कडा प्रतिस्पर्धात्मक चुनावी दौडपछि नयाँ नेतृत्व पाएको छ । कीर्तिपुरमा सम्पन्न २४ औं राष्ट्रिय महाधिवेशनबाट डा. सुजन कडरिया आफ्ना प्रतिस्पर्धी प्रकाश पौडेललाई जम्मा ७ मतको झिनो अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
बिहीबार विद्युतीय मेसिनमार्फत भएको मतदानको राति अबेर सार्वजनिक अन्तिम मत परिणाम अनुसार, अध्यक्षमा विजयी कडरियाले ७३२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी पौडेलले ७२४ मतमा चित्त बुझाउनु पर्यो । अध्यक्षको दौड जस्तै अन्य प्रमुख पदहरूमा पनि प्रतिस्पर्धा देखिएको थियो ।
- ADVERTISEMENT -

खुला उपाध्यक्षमा विकास श्रेष्ठ (७०८ मत) र महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी (७७५ मत) विजयी भएका छन् । संगठनको कार्यकारी पद महासचिवमा दिपक धामीले ७८५ मतका साथ जित हासिल गर्दा उपमहासचिवमा कमलले ८१६ मत प्राप्त गरी आफ्नो स्थान सुरक्षित गरे ।
त्यसैगरी, चार सचिव पदका लागि भएको निर्वाचनमा आकाश घर्ती मगर (३६०), रचना सापकोटा (३०४), समिम बाबु खान (२७३) र गोपाल नेपाल (२६८) मतका साथ विजयी भएका छन् ।
महाधिवेशनले केन्द्रीय पदाधिकारीसँगै विभिन्न तीन महत्वपूर्ण आयोगको नेतृत्व पनि निर्वाचनबाटै टुंगो लगाएको छ । जसअनुसार –
निर्वाचन आयोग– अध्यक्षमा जित प्रसाद सिटौला, उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली ।
लेखा आयोग– अध्यक्षमा अञ्जलि लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत ।
अनुशासन आयोग– अध्यक्षमा सुमन घिमिरे, उपाध्यक्षमा आकाश गिरी र सचिवमा स्मृति अधिकारी ।
नीति तथा अनुसन्धान आयोग– अध्यक्षमा प्रकाश विष्ट, उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे ।
जेठ २५ गतेदेखि त्रिभुवन विश्वविद्यालय परिसरमा सुरु भएको महाधिवेशनको बन्दसत्र लम्बिएपछि बिहीबार नेतृत्व चयनका लागि मतदान भएको थियो । १५५१ मतदातामा रहेको अखिलमा १४५० मत खसेको थियो । विद्युतीय मेसिनमार्फत मतदान भएको हो ।