काठमाडौं / नेपालमा यस वर्षको मनसुन सक्रिय रूपमा फैलिंदै गएको छ । हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू(भागमा मनसुनी वायुको प्रभाव देखिएको छ भने देशको पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुले आंशिक असर पुर्याइरहेका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर आंशिकदेखि साधारण बदलीको अवस्था रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिइएको छ ।
- ADVERTISEMENT -

सोमबार पनि मौसम बदली नै रहने अनुमान छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । त्यसबाहेक, बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि यस्तै खालको मौसम देखिने अनुमान गरिएको छ ।
विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भागहरूमा भारीदेखि अत्यधिक भारी वर्षा हुने सम्भावना छ । उच्च(पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षासँगै हिमपात पनि हुन सक्ने चेतावनी दिइएको छ ।
विभागले यस वर्षको मनसुन अवधिमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ । मनसुन कोशी प्रदेशबाट सुरु भई क्रमशः पश्चिमतर्फ सर्ने क्रममा अहिले लुम्बिनी प्रदेशसम्म फैलिसकेको छ ।